यूकेमा भूपेन्द्रलाई मार्सल आर्ट्सको दुई स्वर्ण

माघ २९, २०८१

कान्तिपुर संवाददाता

Bhupendra won two martial arts golds in the UK

काठमाडौँ — नेपाली मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा बेलायतमा आयोजित प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।

भूपेन्द्रले युकेमा भएको प्रतियोगिताको नान छ्वान र ताइची स्पर्धामा स्वर्ण जितेका थिए । उनले नान छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोडेका हुन् । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो ।

तीन महिनाको अवधिमा भूपेन्द्रले जितेको योसहित ८ पदक हो । यसअघि अमेरिकाको विभिन्न सहरमा भएका तीन प्रतियोगितामा भूपेन्द्रले ६ पदक जितेका थिए । ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा १–१ स्वर्ण र रजत जितेका थिए ।

भूपेन्द्र आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै युके पुगेका हुन् । युकेमै उनले उमा नेपालको चौथो डान पनि प्राप्त गरेका छन् । वर्ल्ड युनाइटेड मार्सल आर्ट्स (उमा) का अध्यक्ष ग्रान्ड मास्टर रिचर्ड होप्किन्सले भूपेन्द्रलाई प्रमाण पत्र प्रदान गरे ।  

कान्तिपुर

Link copied successfully