पोखरा — त्रिभुवन आर्मी क्लबसँग गत वर्षको बदला लिँदै ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पोखरामा भइरहेको २४ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । गत संस्करणमा आर्मीसँग सेमिफाइनलमै २–१ ले पराजित चर्च ब्वाइजले यसपालि १–० ले बदला लिएको हो ।
सोमबार चर्च ब्वाइजका लागि खेलको ९० औं मिनेटमा राज भुसालले निर्णायक गोल गरे । नवीन लामाको कर्नरमा राजले हेडर गोल गर्दै विपक्षी डिफेन्डर र गोलरक्षक विकेश कुथुलाई कुनै मौका दिएनन् । खेलको अन्तिममा गोलरहित अवस्था तोड्दै राजले साबिक विजेता आर्मीलाई पाखा लगाउन भूमिका खेले । धरानमा बुढासुब्बा गोल्डकपको उपविजेतामा चित्त बुझाएको चर्च ब्वाइजले आहा–रारामा उपाधिविहीन अवस्था तोड्न चाहन्छ ।
चर्च ब्वाइजले दुई टिम बनाएर धरान र पोखरामा एकसाथ खेलेको थियो । पोखरामा सर्ज डिकाको कप्तानीमा मैदानमा उत्रिएको टिमले एनआरटीलाई सडन डेथमा हराएर क्वाटरफाइनल तय गरेको थियो । धरानमा शनिबार अनन्त तामाङको कप्तानीमा रहेको टिम एनआरटीसँग नै फाइनलमा पराजित भएको थियो । बुढासुब्बामा खलेर पोखरा आएका समीर तामाङ र रोहन कार्कीलाई प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो रोजाइमा खेलाए । तर, कार्की घाइते भएपछि खेलको २५ औं मिनेटमा उनको स्थानमा राजलाई मैदान प्रवेश गराए ।
अनुभवी खेलाडीले भरिएको आर्मी राष्ट्रिय टोलीका फरवार्ड जिलेस्पीजंग कार्कीको कप्तानीमा मैदान उत्रिएको थियो । टिममा गोलरक्षक विकेश कुथु, नवयुग श्रेष्ठ, आहा–रारामा गत वर्षका सर्वोत्कृष्ट खेलाडी विमल पाण्डे, गत वर्षकै सर्वाधिक गोलकर्ता दिनेश हेन्जनलगायत अनुभवी खेलाडीसँगै नीराजन धामीजस्ता युवा खेलाडी थिए । प्रतिस्पर्धात्मक खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा आर्मीले प्रतियोगिताबाट हात धुनुपर्यो ।
खेलको आठौं मिनेटमा चर्च ब्वाइजका मिलन राईले बायाँ भागबाट उपलब्ध गराएको क्रसमा अबायोमी फाकुन्ले बक्सबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । आर्मी २१ औं मिनेटमा अग्रता लिनबाट चुक्यो । कप्तान जिलेस्पीको पासमा दिनेश हेन्जनको हेडर चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापाले बचाए । उनी पोस्टभित्र पुगेको अवस्थामा हातले भने बललाई बाहिर राख्न सफल देखिए ।
खेलको २९ औं मिनेटमा आर्मीले अर्को अवसर गुमायो । एट्याकिङ एरियामा पाएको फ्रिकिकमा दिनेश हेन्जनको प्रहार नीराजन धामीले बक्सबाट हेडर गरे पनि क्रसबारको केही माथिबाट बाहिरियो । खेलको ४८ औं मिनेटमा जिलेस्पीले दायाँ भागबाट उपलब्ध गराएको क्रसमा नीराजनले हेड गर्ने प्रयास गरे । उनलाई छोएर गएको बलमै दिशान्त राईले गरेको प्रहार विपक्षी गोलरक्षकले बचाए । लगत्तै काउन्टर एट्याकमा चर्च ब्वाइजले सुन्दर अवसर गुमायो ।
अबायोमी फाकुन्लेले दायाँ भागबाट दिएको क्रसमा अनमार्क समीर तामाङले फितलो प्रहार गरे । खेलको ५७ औं मिनेटमा राजको पासमा मिलन राईको हेडर पोस्टमा लागेर फर्कियो । खेलमा मिलन राई प्लेयर अफ द म्याच घोषित भए ।
‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले प्रि–क्वाटरफाइनलमा एनआरटीलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो । त्रिभुवन आर्मी बाई पाएर चर्च ब्वाइजसँग क्वाटरफाइनल खेलेको थियो । चर्च ब्वाइजले माघ ३० मा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ । मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किम र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । थन्डरबोल्टले संकटालाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । उज्वेकिस्तानको टोली बाई पाएर सिधै खेल्दै छ ।
सहाराका ६ खेलाडी ब्रिगेड ब्वाइजमा
सहारा क्लबले सञ्चालन गरेको एकेडेमीका ६ खेलाडी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलका लागि ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन् । क्लबले सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीमध्ये उनीहरू सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् । क्लबका अध्यक्ष केशवराज बरालले खेलाडी विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाए ।
ब्रिगेड ब्वाइजले एकेडेमीका खेलाडीको उत्थानका लागि सहयोगस्वरुप २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । एकेडेमीमा हाल चौथो ब्याचका ३० बालक आश्रित छन् । उनीहरूले शिक्षा, आवासीय सुविधासहित फुटबल सिकिरहेका छन् । क्लबले बर्सेनि फुटबल प्रतियोगिता आयोजना गरेर बचत रकम एकेडेमीमा खर्चंदै आएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
