पाल्पा — पाल्पाको रामपुरमा आयोजित रामपुर महोत्सव कप क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
आइतबार सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराएर पुलिसले उपाधि जितेको हो ।
पुलिसले २५–२१, २५–१२, २५–२२ को जित निकालेको आयोजक रामपुर उद्योग वाणिज्य संघले जनाएको छ । उपाधि जितेसँगै पुलिसले २ लाख २२ हजार २२२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र जितेको छ ।
दोस्रोमा चित्त बुझाएको एपीएफले एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ ।
आर्मीले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
विजयी तथा उपविजेता भलिबल समूहलाई लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ, रामपुर नगर प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा विभागीय टिमसहित ६ उत्कृष्ट क्लबको सहभागिता रहेको थियो ।
