केहीलाई पर्व बन्ने आहा रारा गोल्डकप

माघ २८, २०८१

हिमेश

Aha Rara Gold Cup is a festival for some

काठमाडौँ — आहा रारा गोल्डकप फुटबलका यति धेरे राम्रा पक्ष छन् कि कहिलेकाहीं त्यसको के के मात्र चर्चा गर्ने भन्ने हुन्छ । अहिले पोखरामा यसै प्रतियोगिताको २४ औं संस्करण चलिरहेको छ । केहीका लागि फुटबलको यो प्रतियोगिता पर्वजस्तै हुने रहेछ ।

दसैंजस्तै भनौं । पूरा वर्ष यही प्रतियोगिता हुने छेउछाउ पारेर बिदा मिलाउने अनि त्यसकै लागि भनेर पोखरा आउने । गजब होइन र यो ? यसलाई आहा राराको एउटा असाध्यै सुन्दर पक्ष किन नमान्ने त ? 

यहाँ चर्चा गरिरहेका छौं सहारा यूकेको । आहा राराको मूल आयोजक भयो, सहारा क्लब । सहारा माउ क्लब त भइहाल्यो । त्यसले आयोजना गर्ने प्रतियोगितालाई सहयोग गर्ने यही नाममा प्रवासी संस्था पनि छन् । त्यसमै सबैभन्दा अगाडि छ, सहारा यूके । नामैले प्रस्ट पार्छ, यो संस्था इंग्ल्यान्डतिर छ । सन् २००४ मा यसको स्थापना भएको थियो । आधिकारिक रूपमा चल्न थालेको त्यसको चार वर्षपछि मात्र हो । यसले अहिलेसम्म ६ अध्यक्ष पाइसकेको छ । 

पछिल्ला अध्यक्ष हुन्, कृष्ण गुरुङ । उनीमात्र होइनन्, उनीसँगै बाक्लै संख्यामा सहारा यूकेका सदस्यहरू अहिले पोखरा आएका छन् । ‘हाम्रो एक मात्र उद्देश्य यो प्रतियोगितालाई सफल बनाउने हुन्छ,’ अध्यक्ष भन्छन्, ‘हाम्रो लागि त यो पर्व जस्तै हो । यूके हुँदा अरू बेला बिदा लिँदैनौं, बरू आहा राराकै लागि बिदा साँचिरहेका हुन्छौं । एकपल्ट प्रतियोगिता हुने मिति तय भएपछि हामी नेपाल फर्किहाल्छौं ।’ यो क्रम चल्न थालेको सहारा यूके स्थापनादेखि नै हो । 

सहाराले आहा रारा प्रतियोगिता मात्र गर्दैन, आफ्नै अलग्गै फुटबल एकडेमी पनि चलाउँछ । अन्य काम पनि हुन्छ । यसका लागि राम्रै आर्थिक स्रोत त चाहियो । यसका लागि सबैभन्दा अगाडि आएर सहयोग गर्नेमा यही सहारा यूके नै पर्छ । क्लबको अक्षयकोष स्थापनामा सबैभन्दा बढी योगदान यसकै छ । ‘हामी सहयोग गरेर थाक्ने छैनौं,’ अध्यक्ष गुरुङ भन्छन्, ‘अझ हामी कसरी बढी सहयोग गर्न सक्छौं भनेर सोचिरहेका हुन्छौं । हाम्रा लागि सहारा क्लब र आहा रारा गोल्डकपको धेरै ठूलो अर्थ छ ।’ 

सहारा यूकेमा केही नभएपछि १ सय ७० भन्दा बढी सक्रिय सदस्य छन् । सबै पोखराका छैनन् । तर पोखरेलीको बाहुल्य भने छ । उनीहरू सबै यूकेमा कुनै न कुनै व्यवसायमा संलग्न छन् । त्यसमध्ये अधिकांश बेलायती आर्मीसँग कुनै न कुनै रूपमा जोडिएकै छन् । वर्षमा एकपल्ट बिदा मिलाएर पोखरा आउँछन् र आहा राराको आयोजनामा सघाउने काम गर्छन् । कुरा यत्तिकैमा सकिन्न । उनीहरूले प्रतियोगिताकै लागि भनेर लन्डनबाटै ल्याउने अवार्डको पनि छ । 

खास कुरा के भने आरा रारामा जति पनि ‘प्लेयर अफ द म्याच’ र अरू विधामा उत्कृष्ट खेलाडीको पुरस्कार छ । त्यो सबै यूकेबाटै आउने हो । त्यसैले यो असाध्यै आकर्षक हुने गर्छ । खेलाडीलाई यसको लोभै लाग्ने हुँदोरहेछ । यस्ता अवार्ड ३० को हाराहारीमा हुने गर्छ र यसलाई बनाउन, अनि नेपालसम्म ल्याउन पनि ५ लाख रुपैयाँको हाराहारीमा खर्च हुने गर्छ । ‘हामीले के देखेका छौं भने यी पुरस्कार पाउँदा खेलाडी, प्रशिक्षक बढी खुसी हुने गर्छन्,’ अध्यक्ष गुरुङ थप्छन् । 

फेरि आहा रारा गोल्डकपका सबै पक्ष राम्रा मात्र कहाँ छ र ? धेरैलाई लागेको छ, सायद प्रतियोगिताको लोकप्रियता केही घटेको छ कि ? दर्शक आउनै छाडेका छन् । अनि प्रतियोगिता आफैं घाटामा पनि गएको छ । ‘यो तथ्यलाई हामीलाई साह्रै चिन्तित बनाएको छ,’ अध्यक्ष गुरुङ मान्छन्, ‘प्रतियोगितालाई सबै मिलेर फेरि पुरानै लयमा फर्काउनुपर्छ ।’ यति भन्दाभन्दै उनी वचन दिन्छन्, ‘यस्तै बेला त हो, हामीले अझ बढी सहयोग र मिहिनेत गर्ने भनेको ।’

हिमेश

Link copied successfully