रुकुम पूर्व — रिले दौड प्रतियोगिता हुँदा खेलाडीबीच भएको विवादले झडपको रुप लिँदा स्थगित भएको सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सोमबारदेखि सुचारु भएको छ ।
आइतबार झडपमा परेर सिस्ने–६ स्थित त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक तुलसी केसी गौतम घाइते भएपछि खेलकुदका सबै कार्यक्रम स्थगित गरिएको थियो । आयोजक गाउँपालिकाको सहजीकरणपछि समस्या समाधान भएर खेल सुचारु गरिएको शिल्ड व्यवस्थापन तथा निर्देशक समितिका अध्यक्षसमेत रहेका पालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए ।
खेलाडीबीच सामान्य विवाद भएको विषयलाई बल पुग्ने गरी आफ्ना शिक्षकमाथि हातपात भएकामा दुःख व्यक्त गर्दै त्रिभुवन माविका प्रधानाध्यापक मदन गौतमले घटनामा संलग्न व्यक्तिले माफी मागेपछि मेलमिलापमा गएको बताए । ‘सामान्य विषयलाई ठूलो बनाउने प्रयास गरियो । हामीले यसमा गम्भीर आपत्ति जनाएका थियौं । तर पीडकले गल्तीको महसुस गरेकाले शिल्डका बाँकी प्रतियोगितामा हामी सहभागी भएका छौं,’ उनले भने ।
गत बिहीबार सुरु भएको रनिङ शिल्ड अझै २ दिनसम्म चल्नेछ ।
