काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगाको शीर्ष स्थानको दूरी आइतबार छोट्याएको छ र सेभियामाथि ४–१ को रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले खेलको अन्तिम आधा घण्टा दस खेलाडीमा सीमित रहेर खेले पनि यो जित हात पारेको हो ।
क्याटलान क्लबका लागि रोबर्ट लेवनडोस्की, लोपेज, राफिन्हा र एरिक गार्सियाले गोल गरे । अघिल्लो दिन रियल म्याड्रिड र एटलेटिको म्याड्रिड बराबरी खेलेपछि बार्सिलोनालाई फाइदा पुगेको हो । रियल ५० अंकमा शीर्ष स्थानमा छ ।
उसको पछाडि एटलेटिकोको ४९ र बार्सिलोनाको ४८ अंक भएको छ । यसले लिग उपाधि त्रिकोणात्मक रूपमा सनसनीपूर्ण हुने भएको छ । बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले जितपछि भने, ‘खेलाडीको प्रदर्शनबाट म प्रभावित रहें, यो बहुमूल्य तीन अंक रह्यो ।’
आइतबारको अर्को महत्त्वपूर्ण खेलमा भ्यालेन्सियाले लेगानेसलाई २–० ले पराजित गर्यो र आफ्नो रेलिगेसनबाट बच्ने सम्भावना बढायो ।
