काठमाडौँ — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेलाडी र खेलकर्मीको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद र सदस्य–सचिव टंकलाल घिसिङमाथि शुक्रबार भएको दुर्व्यवहार र कार्यकक्ष तोडफोडप्रति भर्त्सना गरेको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा शनिबार जारी विज्ञप्तिमा जस्तोसुकै असहमतिलाई पनि मर्यादित ढंगले राख्ने अवसर हुादाहुादै खेल संघका नाममा गरिएको अशोभनीय र उद्दण्डता व्यवहारप्रति घोर भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिमाथि कारबाही माग गरिएको छ ।
शुक्रबार नेपाल उसु महासंघका पूर्व पदाधिकारीका व्यक्तिहरूको उपस्थितिमा ज्ञापन पत्र बुझाउने क्रममा सदस्यसचिवमाथि अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै कार्यकक्षमा रहेको टेबललगायत सामान तोडफोड गरिएको थियो ।
नेपाल ओलम्पियन संघले पनि विज्ञप्तिमार्फत खेलकुद र खेलाडीको अभिभावक संस्थाप्रति गरिएको दुर्व्यवहार र तोडफोड जस्ता घटना कुनै हालतमा स्वीकार्य नहुने भनेको छ । संघका अध्यक्ष दीपक विष्टद्वारा जारी विज्ञप्तिमा यस्ता अशोभनीय र उद्दण्ड कार्यले समग्र नेपाली खेलकुदको बद्नाम भएको जनाउँदै घटनामा संलग्न व्यक्तिप्रति कारबाहीको माग गरिएको छ ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले शान्तिपूर्वक कानुन, विधि र प्रक्रियाबाट आफ्ना जायज माग पेस गर्न सकिने सन्दर्भमा जिम्मेबार उसु महासंघका पूर्वपदाधिकारीबाट अनुशासनहीन, अमर्यादित र अशोभनीय कार्य भएकाले उक्त कार्यप्रति कर्मचारी संघ घोर भर्त्सना गर्दै छानबिन गरी दोषीमाथी कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।
यसै गरी परिषद्मा आबद्ध विभिन्न ३० राष्ट्रिय संघले संयुक्त विज्ञप्ति जारी गर्दै खेलकुद निकायभित्र गरिएको अराजक गतिविधि जोकोहीलाई सह्य नहुने जनाउँदै दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।
