काठमाडौँ — केयलिन एमबापेले दोस्रो हाफमा गरेको गोलको मद्धतले रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार एटलेटिको म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । म्याड्रिड डर्बी बराबरीमा टुंगे पनि रियल भने अझै अंक तालिकाको शीर्षमा छ ।
एटलेटिकोले पहिलो हाफमा जुलियन अल्भारेजको पेनाल्टी गोलको मदतले अग्रता लिएको थियो । यो नतिजापछि रियलको २३ खेलबाट ५० अंक भएको छ । एटलेटिको एक अंकको दूरीमा दोस्रो स्थानमा छ । बार्सिलोनाले एक खेल कम खेलेको छ र ४५ अंकमा तेस्रोमा छ ।
बार्सिलोनाले आइतबार सेभियाको सामना गर्दैछ । शनिबारका अन्य खेलमा सेल्टा भिगोले रियल बेटिसलाई ३–२, एथलेटिको बिलबाओले जिरोनालाई ३–० र भिल्लारियलले लास पाल्मासलाई २–१ ले हरायो । बिलबाओ ४४ अंकमा चौथो स्थानमा छ ।
