काठमाडौँ — नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।
प्रतियोगितामा करिब ३२ टिमले प्रतिस्पर्धा गर्नेछ । त्यसमा नेपालका २२ टिम, बंगलादेशका ४, भारतका ३ र पाकिस्तानका १ टिम सहभागी हुने शनिबार संघका महासचिव नरेन्द्र थापाले जानकारी गराए ।
महासचिव थापाका अनुसार नेपाली टिमले दुई विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । त्यसमा एक खेलाडीमात्रै कोर्टमा उत्रने नियम छ । पहिलो संस्करण भव्य आयोजना भएपछि दोस्रो संस्करण गर्न लागेको संघका अध्यक्ष भीम गुरुङले बताए । ‘पहिलो संस्करण निकै भव्यसँग आयोजना गरेका थियौं । त्यो राम्रो भएपछि निरन्तरता दिएका हौं,’ उनले भने ।
प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । थी बाई थ्री कोर्डिनेटर शरद विष्टले प्रतियोगिता गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए । अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल पनि हुनेछ ।
