पहिलो पटक बुढासुब्बा गोल्डकप फाइनल पुगेको चर्च ब्वाइज च्याम्पियन बनेर इतिहास रच्ने दाउमा
सुनसरी — बुढासुब्बा गोल्डकप फुटबलको २५ औं संस्करणको फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दै छ । धरान रंगशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ । शुक्रबार प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरे ।
दुवै कप्तान र प्रशिक्षकले एकअर्कासँग परिचित भएकाले कमजोर नआँक्ने बताए । एन्फाले प्रतियोगिता जुधाएकै कारण एनआरटी र चर्च ब्वाइजका केही खेलाडीको धरान–पोखरा–धरान दौडधुपको कारण उत्कृष्ट प्रदर्शनमा केही कमी आउने दुवै टिमका प्रशिक्षक स्वीकार्छन् ।
एउटै क्लबबाट दुई टिम बनाएर आहा–रारा गोल्डकपमा सहभागी यी टिमबीच प्रतिस्पर्धा शनिबार धरान रंगशालामा हेर्न दर्शकसमेत आतुर छन् । एनआरटी यस सिजनमा ४ प्रतियोगितामा सहभागी भइसकेकाले पनि बुढासुब्बाको फाइनलमा चर्च ब्वाइजसँग प्रतिस्पर्धा गर्न सहज हुने प्रशिक्षक श्याम मालीले बताए ।
उनले राष्ट्रिय खेलाडी अञ्जन बिष्टलाई पोखराबाट धरान झिकाउने तयारी रहेको बताए । यसअघि १० औं संस्करणको उपाधि जितेको साबिक बिजेता एनआरटी उपाधि संख्या बढाउन र इतिहास दोहोर्याउन सक्षम रहेको कप्तान सरोज तामाङले बताए । क्वाटरफाइनलमा झापाको काँकंडभिटा फुटबल टेनिङ सेन्टरलाई ३–१ गोलले पराजित गरेको एनआरटीले सेमिफाइनलमा युकेएफसी भारतलाई ३–१ गोलले पराजित गरेको थियो ।
पहिलो पटक फाइनल पुगेको चर्च ब्वाइज नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको कप्तान अनन्त तामाङ बताउँछन् । गत वर्ष झापा गोल्डकप उपाधि जितेको २४ घण्टा नबित्दै बुढासुब्बा खेल्दा चर्च ब्वाइज पहिलो चरणबाटै बाहिरिएको पीडा भुलाउन चाहान्छ ।
चर्च ब्वाइज समीर तामाङ र अर्मान्ड बेएडुमले सेमिफाइनलमा भुटानको आरटीसी क्लबविरुद्धको खेलमा ह्याटिक गरेकाले उच्च मनोबलसहित मैदान उत्रने तयारी गरेको छ । नेपाल पुलिस क्लबसँगको उद्घाटन खेलमा १–० को झिनो अन्तरको जित निकालेको चर्च ब्वाइजले विगतका कमीकमजोरी सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक सुमन श्रेष्ठले बताए ।
जारी सिजनमा चार प्रतियोगिताको फाइनल खेलिसकेको चर्च ब्वाइजले दुई फाइनलमा एनआरटीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । सिक्किमको गभर्नर्स गोल्डकपमा उपविजेता बनेको चर्च ब्वाइज गत मंसिरमा इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग ३–० ले हारेको थियो । पुसमा सम्पन्न झापा कप फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ ले हराएको थियो । त्यसपछि यी टिम बुढासुब्बा फाइनल खेल्न लागेका हुन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ जित्नेछन् ।
