काठमाडौँ — पारामाउन्ट कलेजले आस्था कलेजलाई पराजित गरी नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को क्रिकेट उपाधि जितेको छ । तल्लो मूलपानी मैदानमा शनिबार भएको खेलमा पारामाउन्टले आस्था कलेजलाई ३८ रनले हराएको हो ।
१ सय ५३ रनको लक्ष्य पछ्याएको आस्थाले चार बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय १५ रन मात्रै बनाउन सक्यो । सुगम बुढाथोकीले सर्वाधिक ६८ रन बनाए । सुयोग भट्टराईले १३ र आशिष रानामगरले १० रन जोडे ।
पारामाउन्टका शिव कुँवर र आशुतोष पाण्डेले ३–३ विकेट हात पारे । सागर भण्डारीले २ र सन्देश थापाको १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पारामाउन्टले २० ओभरमा चार विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । सन्देश पन्थीले ५३ रन बनाए । अमन बोहरा ४२, सन्देश थापा ३५ रनमा आउट हुँदा शिव कुँवर २ रनमा अविजित रहे । आस्थाका अविनाश सिंहले २ विकेट लिए । सुगम बुढाथोकी र आशिष रानामगरको नाममा समान १ विकेट रह्यो।
फाइनलमा म्यान अफ द म्याच सन्देश पन्थी भए । क्याच अफ द म्याच सन्तोष गजमेरले पाए । उदीयमान बलर वेस्टर्न क्रिस्टल एकेडेमीका सचिन भट्ट, उत्कृष्ट ब्याटर आस्था कलेजका भूपालकुमार दंगाल र ‘प्लेयर अफ द सिरिज’ पारामाउन्टका सन्तोष थापा घोषित भए ।
हाइप यति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता गरी कुल ८ टिमले भाग लिएका थिए ।
