न्यु होराइजनले डडेलधुरासँग खेल्ने

माघ २६, २०८१

अर्जुन शाह

New Horizon will play Dadeldhura

धनगढी — सीवाईसी अत्तरियासँग ७८ रनको फराकिलो हार बेहोरे पनि न्यु होराइजन क्लब बुटवल शुक्रबार अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समान २ अंक रहेका दशरथ चन्द एकेडेमी बैतडी र क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंलाई रनरेटमा पछडि पार्दै होराइजन सेमिफाइनल पुगेको हो ।

अत्तरियाले समूह ‘बी’ मा सबै ३ खेल जित्यो भने होराइजन, बैतडी र सीईसीले १–१ खेलमात्र जिते । तर नेट रनरेटमा अगाडि रहँदै होराइजनले शनिबार समूह ‘ए’ विजेता फ्रेन्ड्स क्लब डडेलधुरासँगको सेमिफाइनल भेट पक्का गरेको हो । समूह ‘बी’ को विजेता अत्तरिया र समूह ‘ए’ को उपविजेता डीसीए धनगढीबीच आइतबार अर्को सेमिफाइनल हुनेछ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार टस हारेर ब्याटिङ निम्तो पाएको अत्तरियाले २० ओभरमा ५ विकेट गुमाई १ सय ८८ रन बनायो । भीम सार्की र विवेक यादवले अर्धशतकीय इनिङ्स खेले । भीमले ३९ बलमा ८ चौकासहित ५८ र प्लेयर अफ द म्याच विवेकले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन बनाए ।

शंकर रानाले ३१ र कप्तान सन्तोष कार्कीले २३ रन जोडे । बुटवलका निर्मल गुरुङले २, वीर मगर, तुलबहादुर थापा र विप्रसन केसीले १–१ विकेट लिएका थिए । जवाफमा होराइजनले ८ विकेट गुमाई १ सय १० रन मात्रै बनाउन सक्यो । प्रतीक श्रेष्ठले १८, तुलबहादुरले १७ र वीर मगरले १५ रन जोडे । अत्तरियाका राशिद खान, विवेक र शाहब आलमले २–२ तथा कमल गुप्ता र दीपेश कँडेलले १–१ विकेट लिए ।

गो ड्रिमर्सको आयोजना र नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ सम्म हुनेछ । विजेताले १० लाख र उपविजेताले ५ लाखसहित ट्रफी पाउनेछन् । सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीले जनही ५० हजार पाउनेछन् ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully