काठमाडौँ — पोखरामा सम्पन्न दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन भएको छ ।
त्रिविले १३ स्वर्ण पदकसहित टिम च्याम्पियनको ट्रफी उचाल्यो । थप ९ रजत र ४ कांस्य जितेको त्रिवि दोस्रो पटक च्याम्पियन बनेको हो ।
३ स्वर्ण, २ रजत र ३ कांस्यसहित सुदूरपश्चिम विश्वविद्यालय दोस्रो भयो भने २ स्वर्ण र ३ रजतसहित मध्यपश्चिमान्चल विश्वविद्यालय तेस्रो भएको हो ।सहआयोजक गण्डकी विश्वविद्यालयले १ स्वर्णसहित २ रजत र ५ कांस्य जित्यो ।
काठमाडौं विश्वविद्यालयले २ रजत र ७ कांस्य हात पार्दा पोखराले १ रजत र ३ कांस्य पदक प्राप्त गरेको छ । पूर्वाञ्चलले २ कांस्य, कृषि तथा वनविज्ञानले २ कांस्य र लुम्बिनी विश्वविद्यालयले १ कांस्य पदक जितेका थिए । पुरुष भलिबल, महिला र पुरुप एथलेटिक्स, ब्याडमिन्टन र टेबलटेनिसमा गरी १९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
पुरुष भलिबलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय विजेता बन्यो । मध्यपश्चिमले त्रिभुवन विश्वविद्यालयलाई पराजित २१–२५, २५–१३, २५–१८, २५–२३ को सेटमा पराजित गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय भने कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई २१–२५, २५–४, २५–१७, २५–१६ ले पराजित गरी तेस्रो भयो ।
त्यस्तै टेबलटेनिसमा त्रिभुवन विश्वविद्यालयले ३ स्वर्ण जित्यो । टोलीले २ रजत र एक कास्य पनि जित्यो । गण्डकी विश्वविद्यालयले १ स्वर्ण, १ रजत र २ कांस्य, काठमाडौंविश्वविद्यालयले १ रजत र ३ कांस्य जितेको छ भने पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले एक–एक कांस्य जितेका छन् ।
ब्याडमिन्टनमा त्रिभुवन विश्वविद्यालय नै अगाडि रह्यो । टोलीले ४ स्वर्ण र एक रजत जित्यो । पोखरा, लुम्बिनी र गण्डकीले १–१ रजत तथा काठमाडौंले ३ कांस्य जितेको थियो । तेस्रो विश्वविद्यालय खेलकुद अर्को वर्ष चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गर्ने गरी झण्डा हस्तान्तरण गरिएको छ ।
