रुपन्देही — रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लडलाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।
०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले अबको एक महिनाभित्र फ्लडलाइट पूर्णरूपमा जडान हुने जानकारी दिए ।
फ्लडलाइट जडानसँगै रात्रिकालीन सयमयमा पनि खेल खेलाउन सकिने बताए । मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भइसकेको बताए । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरेको जानकारी दिए ।
भारतबाट पनि केही क्लबस्तरीय टिमहरू आएर खेलेको बताएयो । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरको भनाइ छ । मैदानका साथै अन्य भौतिक संरचनाका कामहरू पनि अगाडि बढिरहेको बताए ।
उनले तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा रहेको बताए । अब प्यारापीट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने योजना रहेको जानकारी दिए ।
