तिलोत्तमा — रुपन्देहीमा शुक्रबारदेखि सैनामैना दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । विभागीयसहित ७ क्लब सहभागी प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब विजयी भएको छ । उसले कोशी प्रदेश भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
सैनामैना-६ कलौनी चोकस्थित वडा कार्यालयको मैदानमा भएको खेलमा मणिमुकुन्दले कोशीलाई पहिलो सेटमा २५-२२, दोस्रो सेटमा २५-२३ र तेस्रो सेटमा २५-१८ ले हरायो । सुरुवाती दुई सेट प्रतिस्पर्धात्मक भएपछि तेस्रो सेटमा कोशीले लय गुमाउँदा हार ब्यर्होनु पर्यो ।
फागुन ३ गतेसम्म चल्ने प्रतिस्पर्धामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै विद्यागत उत्कृष्ट खेलाडीले जनही ७ हजार ७ सय ७७ रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक राजकुमार चौधरीले जानकारी दिए ।
