सुनसरी — मोरङको केराबारी फुटबल क्लबले दोस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप जितेको छ ।
इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको मैदानमा बिहीबार फाइनलमा केराबारीले लोहोरुङ फुटबल क्लब संखुवासभालाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।
केराबारीबाट १५ औं मिनेटमा नाइजेरियन खेलाडी एलेक्सले निर्णायक गोल गरे । विजेता केराबारीले २ लाख ५० हजार र उपविजेता लोहोरुङले १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाए । म्यान अफ द म्याच केराबारीका एलेक्स भए । उनले ५ हजार प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडी केराबारीका प्रवेश बस्नेत भए । उनले १५ हजार पाए ।
केराबारीकै रोशन कार्की उत्कृष्ट गोलरक्षक, सुजन चौधरी उत्कृष्ट डिफेन्डर, नितेश लिम्बू सर्वाधिक गोलकर्ता घोषित भए । लोहोरुङका हेमन लिम्बू उत्कृष्ट मिडफिल्डर र जीवन लोहोरुङ उत्कृष्ट फरवार्ड चुनिए । उनीहरू सबैले जनही १० हजार पाए ।
राइजिङ प्लेयर आयोजक द योङ ब्रदर्श क्लबका सलोज जिमी भए । उनले ५ हजार पाए । विजेतालाई कोशी प्रदेशका उद्योग तथा कृषिमन्त्री खगेनसिंह हाङमाङले पुरस्कार वितरण गरे ।
