तिलोत्तमा — सैनामैनामा शुक्रबारदेखि हुने राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी सकिएको छ । दुधराक्ष युवा क्लबको आयोजनामा हुने सैनामैना–दुधराक्ष कप क्लबस्तरीय राष्ट्रिय भलिबलमा विभागीय क्लबसहित ७ टिमले भाग लिने संयोजक राजकुमार चौधरीले जानकारी गराए ।
त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, गल्कोट भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबको सहभागिता रहनेछ । व्यावसायिक रूपमा विकसित भइरहेको भलिबलले बान्धुत्व पनि बढाउने भएकाले यसपटक क्लबले भलिबल गर्न लागेको उनले बताए ।
२०६० सालमा स्थापित क्लबले विभिन्न सामाजिक कार्य गर्नुका साथै वडा कप, जिल्लास्तरीय भलिबल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता गरिसकेको अध्यक्ष किरण पोख्रेलले जनाए ।
विजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड जित्नेछ । दोस्रो हुनेले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ र तेस्रो हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । सान्त्वना हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
उत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ पाउनेछन् । विधागत उत्कृष्टले जनही ७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार राखिएको छ । प्रतियोगिता गर्न करिब ४५ लाख ७५ हजार खर्च हुने पोख्रेलले बताए ।
