१५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ताप्लेजुङका १५ सय विद्यार्थीको नृत्य एकसाथ देखाइने

माघ २५, २०८१

आनन्द गौतम

Dance of 1500 students of Taplejung will be performed together in the 15th President's Running Shield competition

ताप्लेजुङ — यसवर्ष हुने १५औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । मैवाखोला गाउँपालिकाको केन्द्र साँघुको मैदानमा हुने प्रतियोगितामा सात सय बढी विद्यार्थी खेलाडी सहभागी हुँदैछन् ।

चार दिनसम्म चल्ने प्रतियोगिताको उद्धघाटन सत्रलाई भव्य बनाउन गाउँपालिकाले १५ सय विद्यार्थीको सहभागितामा सातै प्रदेशको झल्को दिनेगरी सांस्कृतिक नृत्यसहितका कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

प्रतियोगिताको व्यवस्थापन गरेको गाउँपालिकाले आफ्नो पालिकाका खेलाडीका लागि भने एक लाख रुपैयाँको बीमा गरिदिएको छ । खेलका क्रममा घाइते वा कुनै दुर्घटना भए त्यसका लागि बीमा गरिदिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए । 

जिल्ला खेलकुद विकास समितिका अनुसार यसरी बीमा गरिएको यो पहिलो पटक हो । गाउँपालिकाले उद्धघाटनको दिन एक दिनका लागि पालिकामा स्थानीय बिदा पनि दिएको छ । 

खेलाडीको हौसला बढाउनका लागि आफ्नो पालिकाबाट स्वर्ण पदक जित्नेलाई पाँच हजार नगद पुरस्कारको घोषणा पनि गाउँपालिकाले गरेको छ । प्रतियोगिता ३० गतेसम्म चल्ने छ । प्रतियोगितामा खेलाडीबाहेक अफिसियल एक सय जना हुनेछन् । उद्धघाटनको दिन १५ सय विद्यार्थीलाई एकैसाथ नृत्य गराउने तयारी गाउँपालिकाको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully