काठमाडौँ — थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलाको उपाधिको हिसाबले निर्णायक मानिएको खेलमा नेदरल्यान्ड्सलाई १ सय १० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभर खेली ५ विकेट गुमाई १ सय ९ रन बनायो ।
उपाधिका हिसाबले यो खेल फाइनलजस्तै रहेको छ । थाइल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेमा लगातार पाँचौं खेल जित्दै उपाधि जित्ने छ । थाइल्यान्डले यसअघिका ४ खेलमा नेपाल र नेदरल्यान्ड्सलाई २–२ पटक पराजित गरेको थियो ।
नेदरल्यान्ड्सलाई उपाधि जित्न थाइल्यान्डसँगको यो खेल जित्नै पर्ने आवश्यक्ता रहेको छ । नेदरल्यान्ड्सले यसअघिका ५ खेलमा ३ जित र हार बेहोरेको छ । टोलीको तीनै जित नेपालसँग रहेको छ भने दुवै हार थाइल्यान्डसँग रहेको छ ।
प्रतियोगिताको तेस्रो टोली आयोजक नेपालले सुरुको ५ खेल हारिसकेको छ । नेपाल र थाइल्यान्ड बीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीले एक अर्कासँग ३–३ पटक खेलेपछि सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ । अफिसरा सुवानचोनराथी शून्य, नानापात कोन्चारोइन्काई ३ र नताया बुचाथन ६ रनमा आउट भएपछि थाइल्यान्डले पाँचौँ ओभरमा १० रन बनाउदा ३ विकेट गुमाइसकेको थियो । त्यसपछि कप्तान नारुइमोल चाइवाईले १५ रन बनाइन् ।
नाथाकन चानथमले चानिदा सुथिरुएङसँग पाँचौं विकेटमा ६६ रनको महत्वपूर्ण साझेदारी गरे । सुथिरुएङले २८ बल खेलि ४ चौकासहित ३२ रन बनाइन् । चानथम ४६ बल खेली ४ चौका र १ छक्का प्रहार गरि ३६ र सुवानान खिएटोले ४ बलमा १ छक्का प्रहार गर्दै अविजित १० रन बनाए ।
नेदरल्यान्ड्सकी आइरिस विलिङले ४ ओभरमा ९ रनमात्र खर्चेर ३ र हिथर सिगर्सले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिइन् ।
