चार स्वर्णसहित त्रिवि अगाडि

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Trivi ahead with four golds

काठमाडौँ — दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बुधबार ७ स्वर्णको छिनोफानो हुदाा त्रिभुवन विश्वविद्यालय ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित शीर्षस्थानमा छ ।

सुदूरपश्चिमले २ स्वर्ण, १ रजत र १ कांस्य, मध्यपश्चिमले १ स्वर्ण, काठमाडौं विश्वविद्यालयले २ रजत र १ कांस्य जितेको छ । गण्डकी विश्वविद्यालयले १ रजत र २ कांस्य जित्दा पूर्वान्चलले २ रजत जितेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालयकी बिना थारुले एथलेटिक्सको १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्डमा काठमाडौं विश्वविद्यालयका विकासकुमार शाह दोस्रो र ११.८४ सेकेन्डमा त्रिविका प्रकाश जोशी तेस्रो भए ।

महिलातर्फ बिनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड खर्चिन् । त्रिविकी आकृति चौधरी १४.९० सेकेन्डमा दोस्रो र पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेस्रो बने ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा मुकेशले नै स्वर्ण जिते । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोस्रो र त्रिविका दिवस रेग्मी (५.५३ मिटर) तेस्रो भए ।

पुरुष ४ सय मिटर दौडमा त्रिविका सुशीलकुमार बानियाँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा दूरी तय गरे । त्रिविका दिवस रेग्मी दोस्रो तथा सुदूरपश्चिमका दीपकराज भाट तेस्रो स्थानमा रहे । महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । उनले ४ सय मिटर दूरी १ मिनेट १०.४६ सेकेन्डमा पूरा गरिन्। त्रिविकी राज्यलक्ष्मी रावलले रजत र गण्डकीकी कृति गिरीले कांस्य हात पारे ।

टेबलटेनिसमा त्रिविले दुई स्वर्ण जितेको छ । महिला डबल्समा सिक्का सुवाल र दिया देउलाको जोडीले काठमाडौंका सुजाता पौडेल र स्वास्ती प्रधान तथा पुरुष डबल्समा सिद्धार्थ तामाङ र राजनमान थाकुको जोडीले गण्डकीको गनन्जय दाहाल र अनुप कुँवरको जोडीलाई हरायो ।

कान्तिपुर

Link copied successfully