च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

माघ २३, २०८१

रासस

Two crores will be required to repair Chasal playground

ललितपुर — ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमास्थित च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत भएको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन् । 

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने, 'बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।'

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९  वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनी दुःखी छन् । खेलकुद परिषद्सँग १० लाख माग गरेका  तर हालसम्म निर्णय नभएको उनको कथन छ । 

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए। दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले  २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो । 

रासस

Link copied successfully