धनगढी सेमिफाइनल नजिक

माघ २३, २०८१

अर्जुन शाह

Dhangadhi Semi-Final Closer

धनगढी — डीसीए धनगढीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । आयोजक टोलीले मंगलबार बोस्टन एकेडेमी झापामाथि ५ रनको रोमाञ्चक विजय हात पार्‍यो । 

टस जितेको धनगढीले फाप्ला क्रिकेट मैदानमा २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रन बनायो । झापाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन मात्रै बनाउन सक्यो । धनगढीको ३ खेलमा यो दोस्रो विजय हो । 

फ्रेन्ड्स युथ क्लब डडेलधुरा पहिलो दुवै खेल जितेर शीर्षस्थानमा छ । पहिलो दुवै खेलमा पराजित भएपछि झापा सेमिफाइनल दौडबाट बाहिरिएको छ । घोडाघोडी ११ सुख्खडले १ खेलमा पराजित भएको छ । टोलीले २ खेल खेल्न बाँकी छ । 

झापालाई विजयनिम्ति अन्तिम ओभरमा १३ रन बनाउन आवश्यक थियो । अन्तिम दुई बलमा १२ रन बनाउनुपर्ने समीकरणमा अविनाश सिंहले भोजराज भट्टको बलमा छक्का प्रहार गरे । तर उनै भोजराजले अन्तिम बल अफ स्टम्प बाहिर राख्दै कुनै रन नदिई धनगढीलाई रोमाञ्चक विजय दिलाए । 

झापाबाट दीपु भुजेलले ३८, अरुण ऐरी र रोहन बिकले समान २६ र रमेश भट्टले २५ रन बनाए । धनगढीका राहुल भण्डारी र नारायण जोशीले २–२ तथा भोजराजले १ विकेट लिए । धनगढीका लोकेश बमले ३६ बलमा ५७ रन बनाए । प्लेयर अफ द म्याच उनले ३ चौका र ४ छक्का प्रहार गरे । अमित श्रेष्ठले २५ र मिलन बोहराले १८ रन बनाए । झापाका पवन कार्की, अभिषेक कार्की र रोशन शाहले २–२ तथा रुसिल रिमालले १ विकेट लिए ।

पहिलो खेलमा न्यु होराइजन बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले हरायो । टस हारेर ब्याटिङ गरेको बुटवलले २० ओभरमा ५ विकेट गुमाई १ सय ५७ रन बनायो । दीपक डुम्रेले ४४ बल ४ चौका र १ छक्कासहित ४५ रन जोडे । आरिफ खानले ४१ र कप्तान दिलीप नाथ र प्रतीक श्रेष्ठले समान २० रन जोडे । दशरथका कप्तान भुवन कार्कीले २, खडक बोहोरा, सलाउद्दिन खान र रुपेश सिंहले १–१ विकेट लिए ।

जबाफमा बैतडी १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । बसन्त खत्रीले २०, हिमाल दुलियाले १९, सुमित बडालले १४ र दिवान पुनले १२ रन बनाए । बुटवलका तुलबहादुर थापाले ३, विप्रसन केसी र वीर मगरले २–२ तथा महेश भार, सिद्धान्त शाही र निर्मल गुरुङले १–१ विकेट लिए ।

तुलबहादुर प्लेयर अफ द म्याच भए । ‘बी’ समूहमा बुटबलले पहिलो जित पाएको हो । बैतडी दुवै खेलमा पराजित छ । सीवाईसी अत्तरिया ४ अंकसहित शीर्षमा छ भने बुटवल दोस्रो स्थानमा छ । क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं एक खेलमा पराजित छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully