महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखला : थाई महिला टिम अपराजित

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Women's T20 International Triangular Cricket Series: Thai Women's Team undefeated

काठमाडौँ — थाइल्यान्डले महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलामा लगातार तेस्रो जित हात पारेको छ । थिपात्चा पुथावोङ र ओनिचा कामचोम्फुले सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३–३ विकेट लिएपछि थाइल्यान्डले नेदरल्यान्ड्सलाई ६९ रनमै अलआउट गर्‍यो ।

डच टोलीले ८७ रनको लक्ष्य पाएको थियो ।

नेदरल्यान्ड्सको इनिङ्स केवल १५.५ ओभरमै टुंगियो ।

पुथावोङले ४ ओभरमा २ मेडन राख्दै १० र कामचोम्फुले ४ ओभरमा १७ रन खर्चेका थिए । चानिदा सुथिरिएङले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर २ र नताया बुचाथमले १ विकेट लिएका थिए ।

प्लेयर अफ द म्याच सुथिरिएङले २७ रन बनाए पनि यसअघि टस हारेर ब्याटिङमा आएको थाइल्यान्ड १९.५ ओभर खेल्दै ८६ रनमै अलआउट भयो ।

सुथिरिएङले २८ बल खेल्दै ३ चौका प्रहार गरिन् । फानिता मायाले ३१ बलमा १२ रन बनाइन् भने अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

नेदरल्यान्ड्सबाट आइरिस विलिङ, इभा लिन्च र सिल्भर सिगर्सले २–२ विकेट लिए । थाइल्यान्डले सबै ३ खेल जित्दा नेदरल्यान्ड्ससँग ४ खेलमा २ मा जित छ । थाइल्यान्डसँग २ खेल हारेको नेदरल्यान्ड्सले नेपालसँगको दुवै खेल जितेको हो । तीन खेलमै पराजित नेपालले मंगलबार थाइल्यान्डसँग खेल्ने छ ।

कान्तिपुर

Link copied successfully