काठमाडौँ — चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामाथि २–१ को पुनर्आगन जित रचेको छ र यससँगै लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।
स्टायनफोर्ड ब्रिजमा भएको खेलमा जाराडो बोवेनको गोलले पहिलो हाफमा वेस्ट ह्यामले अग्रता लिएको थियो ।
त्यसपछि दोस्रो हाफमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा भएको गोल भने आत्मघाती रह्यो र यो आरोन वान–बिसाकाको नाममा रह्यो । लिगका सात खेलमध्ये एकैमा मात्र जित निकालेको चेल्सीले अहिले यो तीन महत्त्वपूर्ण अंक बटुलेको हो ।
यो नतिजापछि चेल्सीको २४ खेलबाट ४३ अंक भएको छ र उसले म्यानचेस्टर सिटीलाई उछिनेको हो । सिटीको समान खेलबाट ४१ अंक छ । शीर्ष तीनमा लिभरपुलको ५६, आर्सनलको ५० र नटिङघम फरेस्टको ४७ अंक छ ।
