फेरिल्यान्ड कपमा आयोजक र बीएनए विजयी

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Hosts and BNA triumph in Fairland Cup

काठमाडौँ — आयोजक फेरिल्यान्ड स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गर्ल्सतर्फ विजय पाएको छ ।

घरेलु कोर्टमा फेरिल्यान्डले लोयल्टी एकेडेमीलाई ३१–१८ स्कोरले पराजित गर्‍यो । फेरिल्यान्डको जितमा करुणा बोगटीले ८ स्कोर गरिन् । डेनिशा जिसी र पासाङ शेर्पाको ६–६ स्कोरमा बीएनएले मन्जरीलाई २६–२२ ले हरायो ।

गर्ल्समै सेन्ट जोसेफले पिक प्वाइन्टलाई २२–१७ तथा एनसीसीएसले ब्रेनल्यान्डलाई ३०–२१ ले हराए । सेन्ट जोसेफकी तुलसा विष्टले ६ र एनसीसीएसकी याङजुम शेर्पाले १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा फेरिल्यान्डले पिक प्वाइन्टलाई ३४–२७, सेन्ट जोसेफले रिलायन्स को–एडलाई ३०–२२, किङडम हिमालयनले मन्जरीलाई ५२–३२ र न्युटनले फ्युजन एकेडेमीलाई ३४–१९ ले हराए । फेरिल्यान्डका मिङ्मार तामाङले १२, सेन्ट जोसेफका सविन मगरले १०, किङ्डमका विकास लामाले ८ र न्युटनका आर्यन बिकले २२ स्कोर बटुले ।

प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिका प्रवक्ता एवं वडा १० का अध्यक्ष नवराज भट्टराई र फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले उद्घाटन गरे । प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गर्ल्समा समान १२–१२ गरी २४ टिम सहभागी छन् । फाइनल आइतबार हुनेछ ।

कान्तिपुर

Link copied successfully