मेयर कप बुद्धिचाललाई विदुर नपाले ३ लाख दिने  

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Vidur Napa will give 3 lakhs to Mayor Cup Buddhichal

काठमाडौँ — नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा फागुन ६ देखि ८ सम्म प्रथम मेयर कप खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

आवश्यक सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले युवालक्षित खुला बुद्धिचाल प्रतियोगिताको प्रायोजनमा ३ लाख बजेट विनियोजन गरेको बताएका छन् । उनले बौद्धिक खेलमा सहभागी हुन आह्वान गर्दै बुद्धिचाल खेलको विकासका लागि नगरपालिकाले हातेमालो गरेको बताए ।

नेपाल बुद्धिचाल महासंघको सहआयोजना तथा प्राविधिक सहयोग रहेको प्रतियोगिताको पुरस्कार २ लाख १७ हजार रहेको छ । प्रतियोगिताको कुल खर्च ४ लाख ५२ हजार ५ सय अनुमानित खर्च छ।

विजयी खेलाडीलाई  ४० हजार र आकर्षक ट्रफी गरिनेछ । द्वितीयले २० हजार, तृतीयले  १५ हजार, चौथोले १० हजार, पाँचौंले  ८ हजार, छैटौंदेखि दसौं हुनेले समान ५–५ हजार र प्रमाणपत्र हात पार्नेछन् ।

स्थानीय खेलाडीलाई प्रेरणाकास्वरुप छुट्टै नगद पुरस्कार ५० हजार प्रदान गरिनेछ । नुवाकोट जिल्लाका प्रथम हुने स्थानीय खेलाडीले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीयले  १० हजार पाउनेछन् ।

महिला विधातर्फ प्रथम हुनेले ८ हजार, दोस्रोले ७ हजार र तेस्रोले ६ हजार पाउनेछन् । उत्कृष्ट नवप्रवेशी खेलाडी, ५५ वर्ष माथिका सिनियर खेलाडी, रेटिङ १६ सयमुनि, रेटिङ १८ सयमुनि, युवा १६ वर्ष र १८ वर्षमुनिका विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई ३ हजार, २ हजार र १ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकारका अनुसार प्रतियोगितामा नेपालका शीर्ष १०० राष्ट्रिय खेलाडीको सहभागी रहने जानकारी गराए ।

संघका अध्यक्ष प्रकाश जोशीको सभापतित्वमा भएको कार्यक्रममा उपमेयर प्रभा बोगटी, नुवाकोट जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष विजय गुरुङ, नगरपालिकाका कार्यकारी अधिकृत शुभाकर पौडेललगायतको उपस्थिति थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully