राजविराज — सप्तरीको तिलाठीमा मंगलबारदेखि साकेतचन्द्र मिश्र कुस्ती प्रतियोगिता सुरु भएको छ । लोप हुँदै गएको कुस्ती खेलको तिलाठीमा भने १७ वर्षदेखि प्रतियोगिता निरन्तर हुँदै आएको हो । कोरोना महामारीका कारण दुई वर्ष तिलाठीमा कुस्ती हुन सकेन । स्थानीयस्तरमा कुस्तीका पहलमानहरूको अभावका कारण प्रतियोगितामा सःशुल्क आएका पहलमान प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालको रूपन्देहीका लक्की थापा, एपीएफ क्लबका वलिराम यादव, वीरगन्जका सुमिर साह, बाराका मनोज यादव, भारत हरियाणाका बाबा लाडी, जम्मु कश्मीरका रिजवान गणीसहित ३६ पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । बिहीबार सकिने प्रतियोगितामा सर्वोकृष्ट पहलमानलाई ५१ हजार पुरस्कार दिइने आयोजक समितिले जनाएको छ ।
कुस्ती खेल लोप भइरहेका बेला सप्तरीका ग्रामीण क्षेत्रमा विभिन्न मेला र पर्वमा कुस्ती आयोजना गरिन्छ । नयाँ पुस्तामा पहलमान तयार नभएका कारण जिल्लामा कुस्ती खेल लोप हुने अवस्थामा पुगेको छ । कुनै बेला सप्तरीमा सकलदेव खलिफा, श्याम खलिफालगायतका चर्चित पहलमान थिए । अहिले स्थानीय पहलमानको अभावमा बाहिरबाट ल्याउनुपरेकाले खाना र पारिश्रमिकमै ठूलो रकम खर्च हुने गरेको छ । विगतमा अधिकांश गाउँमा स्थानीय पहलमानको सहभागितामा गोवर्द्धन पूजाका दिन कुस्ती पतियोगिता हुने गरेको थियो । ती पतियोगितामा उत्कृष्ट हुने पहलमान अन्यत्रका प्रतियोगितामा पनि जाने गरेका थिए । पछिल्लो समय बर्सेनि गाँउगाँउमा हुने कुस्ती प्रतियोगिता कम हुँदै गएका छन् ।
राज्यले लगानी गरेर नयाँ पुस्तालाई प्रशिक्षित गरी आर्कषित गर्न सके अझै पनि कुस्तीमा सम्भावना रहेको जिल्ला खेलकुद विकास सप्तरीका निमित्त प्रमुख दिनेश भुजेल बताउँछन् । २०७६ सालमा तत्कालीन कुस्ती सहायक प्रशिक्षक श्यामनारायण मण्डल सेवानिवृत्त भएपछि सप्तरीमा कुस्तीका प्रशिक्षक पनि आएका छैनन् । अन्य धेरै खेलसँगै कुस्तीका प्रशिक्षक पनि लामो समयदेखि केन्द्रले नपठाएको भुजेलले बताए । उनी भन्छन्, ‘२०६६ सालमा लौनियामा भएको पहलमान छनोट प्रतियोगितापछि कुनै कुस्तीसम्बन्धी गतिविधि भएको छैन । पर्व–मेलाका अवसरमा बाहिरबाट पहलमान ल्याएर मनोरन्जनात्मक प्रतियोगिता गराइन्छ । पछिल्लो समय औपचारिक रूपमा प्रतियोगिता गरिएको छैन ।’ सप्तरीको बलानबिहुल गाउँपालिकाका केही युवाको कुस्तीप्रति आकर्षण रहे पनि उनीहरू पनि सिरहातर्फ गएर खेल्ने गरेको भुजेलले सुनाए ।
