१२ टिमले प्रतिस्पर्धा गर्ने गोल्डकप विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने
पोखरा — आयोजक सहारा क्लबले मंगलबार २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
उपाधिको स्वाद चाख्न नपाएको सहारा यसपल्ट सफलता खोजीमा छ । आहा–रारा संस्करणकै सर्वाधिक सफल र अनुभवी टिम पुलिस क्लब उपाधि थप्ने अभियानमै छ ।
सहारा क्लबको आयोजनामा २०५८ मा पहिलोपल्ट क्याराभान कप हुँदा पुलिसले नै उपाधि जितेको थियो । २०५९ बाट हिमश्री फुड्सले प्रतियोगिता प्रायोजन गर्न थालेपछि आहा गोल्डकप, २०६९ बाट आहा–रारा गोल्डकप र २०७९ बाट आहा–रारा पोखरा गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ । क्याराभानबाहेक ६ पटकको उपाधि विजेता र ५ पटकको उपविजेता पुलिसले लगातार तीन पटक जितेर ह्याट्रिक गरिसकेको छ । पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितिसकेको हो ।
क्याराभानमा पुलिस र सहारा नीलोबीच सेमिफाइनलमा भेट भएको थियो । निर्धारित र थपिएको समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुग्दा ९–९ गोलको बराबरी हुन पुग्यो । रेफ्रीले विजेता घोषणा गर्न टसको सहारा लिनुपर्यो । पुलिसले टस जितेर फाइनल प्रवेश गर्यो । फाइनललाई मनाङ मर्स्याङ्दीलाई २–१ ले पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।
आहा–रारा गोल्डकपमा पुलिस र सहाराबीच पाँचपल्ट भेट भएको छ । पाँचैपल्ट सहारा पराजित छ । दोस्रो आहा गोल्डकपमा पुलिसले सहारा नीलोलाई ५–१ ले हरायो । छैटौं संस्करण सेमिफाइनलमा पुलिसले सहारालाई हराएर फाइनलमा पुग्दै उपाधि जित्यो । पुलिसले २–२ को बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा ७–६ ले सहारालाई पराजित गरेको थियो । आठौं संस्करणमा पुलिसले २–१, १५ औं संस्करणमा पनि २–१ र १८ औं संस्करणमा टाइब्रेकरमा ४–२ ले सहारालाई पराजित गरेको थियो ।
मंगलबार सहाराले सुशील लामाको कप्तानीमा टोली मैदानमा उतार्दै छ । गोलरक्षकद्वय सन्तोष महत र अशोक रेग्मी, खेलाडी सुशील बराल, भीषण गुरुङ, आशिष गुरुङ, अंकित गुरुङ, सन्तबहादुर गुरुङ, विशाल नेपाली, सगम ठकुरी, सन्तोष शाही, सरोज टितुङ, भागवत चौधरी, मुकुन्द निउरे, हेमन्त तामाङ, राजकुमार कुँवर, अभिषेक राना, रोशन छन्त्याल, आकाश थपलिया र अफ्रिकी मुलुकका विलियम सेसेग्नन्, म्याथियो र आर्नल्ड छन् । सुनिल राना प्रशिक्षक छन् ।
पुलिस राम वाजीको कप्तानीमा मैदान उत्रँदै छ । गोलरक्षकद्वय शत्रुधन चौधरी र सन्जित श्रेष्ठ, खेलाडी नीरज खड्का, भक्तजंग खड्का, शिशिर चौधरी, सुनील तामाङ, सुजन मगर, पृथ्वी चौधरी, सन्जिव लामा, मनीष सेढाईं, विवेक पाण्डे, उज्वल राई, ओसेन्द्र कटुवाल, अर्जुन गाहा, हेमन्त श्रेष्ठ, प्रवीण थापा, हेम तामाङ र सन्तोष हेमरन छन् । प्रशिक्षकमा चेतन घिमिरे छन् ।
आयोजक टिम तयारी संयोजक हरिराम गुरुङले यसपल्ट उपाधि जित्ने गरी टिम तयारी गरेको बताए । फुटबल प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । गत संस्करणमा त्रिभुवन आर्मीले थ्री स्टारलाई हराएको उपाधि जितेको थियो ।
यसैबीच सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गर्ने भएको छ । प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित उद्घाटन समारोहमा सम्मानित गरिनेछ । उक्त पुरस्कारवापत्को रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रदान गर्दै आएका छन् ।
तनहुँको पुर्कोटका सनिश ७ वर्षदेखि फुटबल खेलिरहेका छन् । नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एक राष्ट्रियस्तरको फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।
