काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार डेपोर्टिभो लाकुरुनालाई १–० ले पराजित गरेको छ । यस नतिजासँगै लिग उपाधि होड फेरि त्रिकोणात्मक भएको छ । बार्सिलोनाको एक मात्र गोल रोबर्ट लेवनडोस्कीले गरे ।
बार्सिलोनाको २२ खेलबाट ४५ अंक भएको छ र तेस्रो स्थानमा छ । यो शीर्षमा रहेको रियल म्याड्रिडसँग चार अंकको दूरी हो । एथलेटिको म्याड्रिड ४८ अंकमा दोस्रो स्थानमा छ । यसले लिग थप रोमाञ्चक हुनेछ । अर्को साता लिगमा म्याड्रिड डर्बी रहेको छ ।
आइतबारका अन्य खेलमा रियल बेटिसले एथलेटिको बिलबाओलाई २–२ को बराबरीमा रोक्यो । भ्यालेन्सियाले सेल्टा भिगो तथा ओसासुनाले रियल सोसिडाडमाथि समान २–१ को जित रच्यो ।
