पोखरा — गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरूषतर्फ च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आइतबार फाइनलमा गण्डकीलाई ३-१ सेटमा पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।
पहिलो र दोस्रो सेट लगातार जितको पुलिसले तेस्रो सेट गण्डकीलाई सुम्पिएको थियो । पहिलो सेट २५-२३, दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट २०-२५ ले गण्डकीलाई सुम्पियो ।
दर्शकको साथ पाएको गण्डकीले चौथो सेटमा बराबरी बनाउने मौका गुमाउँदा उपाधि यात्रा टुंग्याउनुपर्यो । पुलिसले चौथो सेट २५-२२ ले जित्दै उपाधिमा नाम लखायो ।
उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।
