काठमाडौँ — नेपाल स्कि संघको आयोजनामा नियमित प्रशिक्षणसँगै प्रतियोगिता पनि हुने भएको छ । संघको आइतबार बसेको छैटौं साधारणसभाले यो निर्णय गरेको हो । यसैक्रममा छैटौं स्कि प्रतियोगिता रारा, बझाङ अथवा मुस्ताङमध्ये एक उपयुक्त स्थानमा हुनेछ ।
नेपालका स्कि प्रतियोगिता आयोजनाका लागि हिउँ पर्न आवश्यक छ र त्यसका लागि त्यसै अनुसारको मौसम तथा समय कुर्नु पर्ने हुन्छ । अबको वर्ष पनि स्किबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितासँगै त्यसका लागि प्रशिक्षण पनि हुनेछ ।
सन् २०२४ मा नेपालले युथ विन्टर ओलम्पिकमा सहभागिता जनाएको थियो । प्रतियोतिगा दक्षिण कोरियाको गाङवनमा भएको थियो । यस्तै नेपाली स्कि खेलाडीले चीनका जिलिन प्रान्तमा भएको फिस डेभलपमेन्ट प्रोग्राममा पनि सहभागिता जनाएको थियो ।
चीनकै बैडाहुमा भएको एसियन अल्पाइन च्याम्पिनसिप जुनियरमा पनि नेपालको सहभागिता रहेको थियो । साधारणसभा संघका अध्यक्ष जीवनराम श्रेष्ठको सभापतित्वमा भएको थियो ।
