काठमाडौँ — नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार ९ विकेट गुमाई १ सय ४० रन बनाएको हो ।
सीता रानामगरले उत्कृष्ट बलिङ गरेपछि नेपालले नेदरल्यान्ड्सलाई ठूलो स्कोर पुग्नबाट रोक्न सफल भएको हो । नेदरल्यान्ड्सले पहिलो १० ओभरमा ३ विकेट गुमाई ८५ रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो । तर देव्रेहाते स्पिनर सीताले ५ विकेट लिएपछि नेदरल्यान्ड्स सानो स्कोरमा खुम्चिएको थियो । नेदरल्यान्ड्सले नेपालसँगको पहिलो खेलमा १ सय ५७ रन बनाएको थियो ।
सीताले ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिई आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेकी थिइन् । २०२३ को अगस्टमा हङकङविरुद्ध उनले मलेसियामा १६ रन खर्चेर ५ विकेट लिएकी थिइन् । मनीषा उपाध्यायले ४ ओभरमा ३१ रन खर्चेर २ तथा कविता जोशी र कप्तान इन्दु बर्माले १–१ विकेट लिए ।
नेदरल्यान्ड्सबाट कप्तान बाबेट डी लिडेले सर्वाधिक ४१ रन बनाए । उनले ३८ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । हिथर सिगर्सले २३ बल खेली ३ चौकासहित २६ तथा ओपनर फेबे मोल्केनबोइर र रोबिने रिज्केले समान २१ रन बनाए ।
यसअघिका दुवै खेलमा पराजित नेपालले घाइते कविता कुँवरको स्थानमा स्पिनर रेवती धामीलाई डेब्यु गरेको थियो । तर अनौठो बलिङ एक्सनबाट १ ओभर बलिङ गरेर १० रन दिएकी उनी फेरि अर्को ओभर बलिङमा आइनन् । थाइल्यान्डविरुद्धको अघिल्लो खेलमा मध्यम गतिका बलर कविताले २ ओभर बलिङ गरेपछि ढाडमा चोट बोक्न पुगेका थिइन् ।
नेदरल्यान्ड्सले क्यारोलिन भान कुलविज्क र फ्रेडेरिक ओभरडिकको स्थानमा हानान लान्धिर र हिथर सिगर्सलाई खेलाएको हो ।
नेपाल पहिलो दुई खेलमा पराजित भइसकेको छ । नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल त्यसपछि थाइल्यान्डसँग ४ विकेटको हार बेहोर्नु परेको थियो । नेपाललाई पहिलो खेलमा पराजित गरेको नेदरल्यान्ड्स शुक्रबार थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।
सहभागी टोलीले एकअर्कासँग तीन खेल खेल्ने र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ ।
