काठमाडौँ — नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय भोगेको छ । नेदरल्यान्ड्सले नेपाललाई आइतबार १५ रनले पराजित गर्यो । १ सय ४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ८ विकेट गुमाई १ सय २५ रनमात्र बनाउन सक्यो ।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल त्यसपछि थाइल्यान्डसँग ४ विकेटले हार्न पुगेको थियो । नेदरल्यान्ड्सको ३ खेलमा यो दोस्रो जित हो । आफ्नो अघिल्लो खेलमा डच टोली थाइल्यान्डसँग भने ८ विकेटले पराजित भएको थियो ।
सहभागी टोलीले एकअर्कासँग तीन खेल खेल्ने तालिका छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ । थाइल्यान्ड पहिलो दुई खेलमै विजयी रहेको छ ।
नेपालबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बल खेल्दै १ छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्काले २५ बल खेली ४ चौका प्रहार गरी २३, पूजा महतोले १८ बल खेली १ चौका प्रहार गरी १८, कविता जोशीले १५ बल खेली १४ र सीता राना मगरले ६ बल खेली अविजित १० रन बनाइन् ।
नेदरल्यान्ड्सबाट आइरिस विलिङ, क्यारोलिन डि लाङ्गे र हिथर सिगर्सले २–२ तथा इभा लिन्च र इसाबेल भान डेर वोनिङले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार ९ विकेट गुमाई १ सय ४० रन बनाएको थियो ।
सीता रानामगरले उत्कृष्ट बलिङ गरेपछि नेपालले नेदरल्यान्ड्सलाई ठूलो स्कोर बनाउनबाट रोक्न सफल भएको थियो । नेदरल्यान्ड्सले पहिलो १० ओभरमा ३ विकेट गुमाई ८५ रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो । तर देब्रेहाते स्पिनर सीताले ५ विकेट लिएपछि नेदरल्यान्ड्स सानो स्कोरमा खुम्चिएको थियो । नेदरल्यान्ड्सले नेपालसँगको पहिलो खेलमा १ सय ५७ रन बनाएको थियो ।
सीताले ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिइ आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेकी थिइन् । २०२३ को अगस्टमा हङकङविरुद्ध उनले मलेसियामा १६ रन खर्चेर ५ विकेट लिएकी थिइन् । मनीषा उपाध्यायले ४ ओभरमा ३१ रन खर्चेर २ तथा कविता जोशी र कप्तान इन्दु बर्माले १–१ विकेट लिए ।
नेदरल्यान्ड्सबाट कप्तान बाबेट डी लिडेले सर्वाधिक ४१ रन बनाए । उनले ३८ बल खेलि ४ चौका र १ छक्का प्रहार गरे । हिथर सिगर्सले २३ बल खेली ३ चौकासहित २६ तथा ओपनर फेबे मोल्केनबोइर र रोबिने रिज्केले समान २१ रन बनाए ।
यसअघिका दुवै खेलमा पराजित नेपालले घाइते कविता कुँवरको स्थानमा स्पिनर रेवती धामीलाई डेब्यु गरेको थियो । तर अनौठो बलिङ एक्सनबाट १ ओभर बलिङ गरेर १० रन दिएकी उनी फेरि अर्को ओभर बलिङमा आइनन् । थाइल्यान्डविरुद्धको अघिल्लो खेलमा मध्यम गतिकी बलर कविताले २ ओभर बलिङ गरेपछि चोटका कारण बाहिरिन पुगेकी थिइन् ।
