शीर्षमा लिभरपुलको अग्रता नौ अंक

माघ २०, २०८१

कान्तिपुर संवाददाता

Liverpool nine points clear at the top

काठमाडौँ — मोहमद सलाहले गरेको दुई गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिबार २–० ले पराजित गरेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता लिएको छ ।

यस्तै तेस्रो स्थानमा रहेको नटिङघम फरेस्टले ब्राइटनलाई ७–० ले हराएको छ ।

प्रिमियर लिगको इतिहासमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा पनि उक्लेका छन् । उनले फ्रान्क लाम्पार्डलाई पछाडि छाडेका हुन् । उनको गोल संख्या १ सय ७८ पुगेको छ । यो जितले लिरभपुलको कीर्तिमान २० औं लिग उपाधिको यात्रा पनि अझ सजिलो बनेको छ ।

एभरटनले लेस्टर सिटीलाई ४–० ले हराएर रेलिगेसन तनाव कम गरेको छ । यस्तै उल्भ्सले एस्टन भिल्लालाई २–० ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ । अन्य खेलमा फुलहमले न्युकासल युनाइटेड र साउथह्याम्पटनले इपस्विच टाउनलाई समान २–१ ले हरायो । 

कान्तिपुर

Link copied successfully