आहा–रारा पोखरा गोल्डकपमा तीन विदेशीसहित १२ टिम प्रतिस्पर्धी

आयोजक र पुलिसबीच उद्घाटन खेल हुने

माघ २०, २०८१

दीपक परियार

12 teams competing in the Aha-Rara Pokhara Gold Cup, including three foreigners

पोखरा — सहारा क्लब पोखराले मंगलबारदेखि फागुन ३ गतेसम्म सञ्चालन गर्ने २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी हुने भएका छन् । क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगितामा भारत, यूके, उज्वेकिस्तानका टिमसहित नेपालका ‘ए’ डिभिजन क्लबले भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन खेल पोखरा रंगशालामा आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ ।

फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र फागुन १ मा दोस्रो सेमिफाइनल हुनेछ । समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले सिधै क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् । 

समूह ‘बी’ मा एपीएफ, मछिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् । तीमध्ये थ्री स्टार र उज्वेकिस्तानले सिधै क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए । 

प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार रुपैयाँ बचत हुने अनुमान रहेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्री स्टार हुन् । यस वर्षको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् । 

वि.सं. २०५५ मा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ । आहा–रारा नेपालमै निरन्तर भइरहेको एकमात्र फुटबल प्रतियोगिता हो ।

पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद पर्यटनको हबका रूपमा विकास गर्नुका साथै नवप्रतिभावान फुटबल खेलाडीलाई उत्कृष्ट मञ्च प्रदान गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको क्लबका अध्यक्ष केशवराज बरालले बताए । क्लबले प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चने गरेको छ । हाल एकेडेमीमा १६ जिल्लाका ३० जना बालक आश्रित छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully