टाइगर कप भलिबल: न्यु डायमन्डलाई हराउँदै आयोजक टोली फाइनलमा 

माघ १९, २०८१

दीपक परियार

Tiger Cup Volleyball: Hosts beat New Diamond in finals

पोखरा — पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखराको टोली फाइनल प्रवेश गरेको छ । 

पोखरा रंगशालामा शनिबार भएको दोस्रो क्वालिफायरमा न्यु डायमन्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइनल यात्रा तय गरेको हो । 


पहिलो सेट १६–२५ ले गुमाएको टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा सुरक्षित गर्‍यो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । आयोजक टोलीले अब उपाधिका आइतबार  एपीएफ क्लबसँग खेल्नेछ । पराजित भएको न्यु डायमन्ड तेस्रो बनेको छ । न्यु डायमन्डले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो । 


अब पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । यो खेलको विजेताले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग भिड्नेछ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully