राष्ट्रिय बुद्धिचाल : रुपेश र सिन्दिरा च्याम्पियन

माघ १९, २०८१

सुवास विडारी

National Intelligence: Rupesh and Sindira Champions

मकवानपुर — रुपेश जैसवाल र सिन्दिरा जोशी क्रमश : पुरुष र महिलातर्फ राष्ट्रिय बुद्धिचाल च्याम्पियन भएका छन् । हेटौंडा एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५ औं राष्ट्रिय चेस च्याम्पियन बनेका छन् । उनको यो दोस्रो राष्ट्रिय उपाधि हो ।

रुपेशले चौथो वरीयताबाट खेल प्रारम्भ गर्दै सात जित, चार बराबरी खेले । उनले आफ्नो व्यक्तिगत रेटिङ २०९३ बाट खेल सुरु गरेर ३०.२ रेटिङ बढाएका छन् । समग्रमा उनको उत्कृष्ट रेटिङ पर्फमेन्स २२११ रह्यो । 

युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोस्रो बन्दै प्रतिस्पर्धा अन्त्य गरेका छन् । वर्तमान नेपाल च्याम्पियन राजन सुवेदीसँग समान ८.५ अंक बनाएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सीमित भए । झापाका राजन तेस्रो स्थानमा अडिए ।

मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाइ चौथो स्थान प्राप्त गरेका छन् । दोलखाका आशीष फुयाँल ७ अंक जोडेर पाँचौं स्थानमा रहे । झापाका सिएम शुश्रुत दहाल ६.५ अंकसहित सातौं, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंक आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं भए ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको १० औं महिला राष्ट्रिय वुमन च्याम्पियन सिन्दिरा जोशीले ९ अंक बनाएकी छिन् । उनले उत्कृष्ट खेल खेली उपाधि जोगाउन सफल भएकी छिन् । 

लामो समय चेस खेलमा व्यतीत गरेकी पुनम प्रसाईंले ८ अंक जोडेर दोस्रो भएकी छिन् । कडा प्रतिस्पर्धामा झापाका पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गरी दोस्रो भइन् । बाँकेका इशा गिरीले ८ अंक टाइब्रेक प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो स्थान हासिल गरेकी हुन् । उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तृतीय बनेकी हुन् ।

काठमाडौंका एञ्जल महर्जनले समान ८ अंक जोडेर चौथो स्थानमा रहने क्रममा अप्रत्याशित उत्कृष्ट खेल प्रदर्शन गर्दै ३५ टाइब्रेक प्वाइन्ट बनाएकी हुन् ।

यसैगरी मोरङ शान्ति धिमाल ७.५ अंकसहित पाँचौं, झापाका कृतिसारा अधिकारी ६.५ अंकमा छैटौं, किर्तिपुरका बिनिता कपाली ६ अंक प्राप्त गर्दै सातौं, बारा जिल्लाका सुशीला गुरुङ ५.५ अंक आठौं, चितवनका लक्ष्मी कँडेल नवौं र काठमाडौंका निहाना श्रेष्ठ दशौं भए । 

महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहका प्रमुख अतिथि वाग्मती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले वरिष्ठ खेल पत्रकार कान्तिपुर राष्ट्रिय दैनिकका ध्रुवकुमार तुलाधर र गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई नगदसहित सम्मान गरे । 

कार्यक्रममा वाग्मती प्रदेश सांसद एकालाल श्रेष्ठ, साउथ एशियन चेस फेडेरेसनका अध्यक्ष एवं अल इण्डियन चेस फेडेरेसनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, प्रवक्ता राजु ताम्राकार, एफए सोराज ताम्राकार लगायतको उपस्थिति थियो ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully