काठमाडौँ — नेपालले त्रिकोणात्मक महिला ट्वान्टी/२० क्रिकेट शृंखलामा शनिबार थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस तिजेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
नेपालले मध्यम गतिका बलर ईश्वरी विष्टको स्थानमा शीर्ष पंक्तिका ब्याटर ममता चौधरीलाई खेलाएको छ । नेपालले अघिल्लो खेलमा एलिसाकुमारी यादव र मनीषा उपाध्यायलाई ‘डेब्यु’ गरेको थियो । तर धनगढीमा अघिल्लो साता सम्पन्न प्रधानमन्त्री कपमा सर्वाधिक १० विकेट लिएकी मनीषाले नेदरल्यान्ड्सविरुद्धको खेलमा बलिङ गर्न पाएकी थिइनन् ।
नेपाल बिहीबार पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सलाई शुक्रबार थाइल्यान्डले ८ विकेटले पराजित गरेको छ । नेपालले २०११ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन ।
सन् २०१९ मा नेपालले ट्वान्टी/२० अन्तर्राष्ट्रिय मान्यता पाएयता थाइल्यान्डविरुद्ध खेलेका सबै तीन खेलमा पराजित भएको छ । ट्वान्टी/२० विश्वकप खेलिसकेको थाइल्यान्ड पहिलो पटक नेपाल आएर खेलिरहेको हो ।
