काठमाडौँ — महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको बिहीबारको खेलअघि नेपाल र नेदरल्यान्ड्स दुवै एकअर्काबारे बेखबर थिए । किनभने उनीहरू एकआपसमा यसअघि कहिल्यै खेलेका थिएनन् । तर नेदरल्यान्ड्सभन्दा नेपाल केही कमजोर नै रहेको तथ्य प्रमाणित हुँदै आएको थियो ।
यस्तोमा शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित हुनु नेपालका लागि स्वाभाविक नतिजाजस्तै थियो । टस हारेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो ।
जवाफमा आएको नेपालले ७ विकेट गुमाई १ सय ३७ रन मात्र बनाएको थियो । घरेलु मैदानमा दुर्लभै अन्तर्राष्ट्रिय खेल खेल्न पाउने नेपालले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ४ स्थान माथिको टोली नेदरल्यान्ड्ससँग जुन ब्याटिङ देखाएको थियो, त्यसले घरेलु टोलीलाई नयाँ आशा देखाइदिएको छ ।
त्यसैले कप्तान इन्दु बर्मा नेपालको प्रदर्शनलाई सकारात्मक रूपमा लिनुपर्ने जनाउँछिन् । उनले भनिन्, ‘हामी सधैंभरि ब्याटिङमा चुकिरहेका हुन्थ्यौं, यस पटक हामी फिल्डिङमा चुक्यौं । त्यसैले ब्याटिङलाई लिएर हामी कतै खुसी पनि छौं । तीन जना ब्याटरले राम्रो खेल्नुभयो, अर्को खेलमा अरू ब्याटरले पनि राम्रो गर्नु हुन्छ भन्ने आशा गरेको छु ।’
नेपालबाट सीता रानामगरले सर्वाधिक २८ रन बनाइन् । उनले ४५ बल खेली ३ चौका प्रहार गरिन् । कविता जोशीले १७ बल खेली १ चौका र २ छक्कासहित २७, पूजा महतोले १४ बलमा समान २ चौका र छक्कासहित २४, रुविना क्षेत्रीले ११ रन बनाइन् । सम्झना खड्का ९, इन्दु ७, कविता कुँवर ८ रनमा आउट भए । विन्दु रावल ३ र डेब्यु गरिरहेकी अलिशा यादव ४ रनमा अविजित रहिन् । नेदरल्यान्ड्सबाट इभा लिन्चले ४ ओभरमा ३० र क्यारोलिन डी लाङ्गेले ४ ओभरमा ३६ रन खर्चेर २–२ विकेट लिए ।
बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । कविता कुँवरले इनिङ्सको दोस्रो बलमै फेबे मोल्केनबोइरलाई शून्यमा एलबीडब्लू आउट गरेकी थिइन् । पूजाले कप्तान बाबेटे डी लिडेलाई ६ रनमा बोल्ड गरी नेपाललाई खेलमा हाबी बनाउन खोजेकी थिइन् । तर स्टेरे कालिस र रिज्केले तेस्रो विकेटमा ४७ रनको साझेदारी गरी नेदरल्यान्ड्सको इनिङ्सलाई सुधारे । कालिसलाई २९ रनमा सीताले बोल्ड गरिन् । रिज्के र हिथर सिगर्सले चौथो विकेटमा ५४ रनको साझेदारी गरे । सिगर्सले १९ बल खेली समान १ चौका र छक्कासहित २३ रन बनाइन् । उनलाई सोनु विष्टले लङ अनमा रुविनाबाट क्याच गराइन् ।
रिज्के ५७ रन बनाई अविजित रहिन् । उनले ४७ बल खेली ८ चौका प्रहार गरिन् । अर्की अविजित ब्याटर आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन् । उनले ५ चौका प्रहार गरेकी थिइन् । नेदरल्यान्ड्सले अन्तिम ५ ओभरमा ६२ रन जोडेकी थिइन् । नेपालबाट कविता, पूजा, ईश्वरी र सीताले १–१ विकेट लिइन् । कविताले २ ओभरमा १४, पूजाले ३ ओभरमा २५, ईश्वरीले ३ ओभरमा १ मेडन राख्दै २४ र सीताले ३ ओभरमा २५ रन खर्चेका थिए ।
नेदरल्यान्ड्सले शुक्रबार थाइल्यान्डसँग खेल्नेछ भने शनिबार नेपाल र थाइल्यान्डका बीच खेल हुनेछ । सहभागी टोलीले एकअर्कासँग तीन पटक खेल्नेछ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ ।
