पोखरा — आयोजक टाइगर ग्रुप अफ पोखरालाई पराजित गर्दै एपीएफ क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइलनमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै साविक विजेता एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौंथो २६–२४ ले जित निकाल्दै एपीएफले फाइनल यात्रा तय गर्यो । खेलमा टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन् ।
पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
हाल पुरुषतर्फको पहिलो क्वालिफायर खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भइरहेको छ । आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए ।
शुक्रबारको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिस्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुलिस र आर्मीबीच पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
