टाइगर कप भलिबल : हेल्प नेपाललाई हराउँदै गण्डकी इलिमिनेटरमा प्रवेश 

माघ १७, २०८१

दीपक परियार

Tiger Cup Volleyball: Help beat Nepal to enter Gandaki Eliminator

पोखरा — पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै गण्डकी प्रदेश इलिमिनेटरमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्‍यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्‍यो । 

यो जितसँगै गण्डकी पहिलो चरणमा पराजित समूहबाट ६ अंक प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल २ र एपीएफ एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । गण्डकीले अब शुक्रबार विजेता समूहबाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ । 

Tiger Cup Volleyball: Help beat Nepal to enter Gandaki Eliminatorयसअघि भएको खेलमा विजेता  समूहमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ । 

यस्तै बिहीबार बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । न्यु डायमन्डले अब फाइनल प्रवेशका लागि एपीएफ र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully