टाइगर कप भलिबल : आर्मी र पुलिस पहिलो क्वालिफायरमा

भारतको सुनिल भलिबल क्लबले इलिमिनेटर खेल्ने 

माघ १७, २०८१

दीपक परियार

Tiger Cup Volleyball: Army vs Police in First Qualifier

पोखरा — पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् ।

विजेता समूहको अन्तिम खेलमा बिहीबार भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षको पारेको थियो । तेस्रो सेटमा ५–१० स्थितिलाई उल्टाउँदै सुनिल क्लबले २२–२२ को अवस्थामा पुर्‍याएको थियो । तर, अन्तिममा पुनः आर्मीले अग्रता लिँदै सेट आफ्नो पक्षमा पार्‍यो । चौथो सेट भने आर्मीले २३–२५ ले सुनिल क्लबलाई सुम्पिदा खेल पाँचौँ सेटमा धकेलिएको थियो । पाँचौँ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १५–१२ ले जित दर्ता गर्‍यो ।

योसँगै विजेता समूहबाट आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका छन् । २ खेलबाट १ अंक जोडेको सुनिल क्लब समूहको तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको हो ।

बिहीबारको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच भइरहेको छ । उक्त खेलको विजेताले इलिमिनेटर खेल्नेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully