टाइगर कप भलिबल : पुलिसलाई पराजित गर्दै न्यु डायमन्ड दोस्रो क्वालिफायरमा 

माघ १७, २०८१

दीपक परियार

Tiger Cup Volleyball: New Diamond beat Police in second qualifier

पोखरा — पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार बिहान भएको इलिमिनेटर खेलमा न्यु डायमन्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

न्यु डायमन्डले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि न्यु डायमन्डले लिग चरणमा पनि पुलिसलाई पराजित गरेको थियो । पुलिस पहिलो चरणमा पराजित समूहबाट शीर्ष स्थान र न्यु डायमन्ड विजेता समूहबाट तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा प्रवेश गरेका थिए । 

न्यु डायमन्डले अब फाइनल प्रवेशका लागि एपीएफ र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । 

बिहीबारको दोस्रो खेल पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बीच हुँदै छ। उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यो खेलको क्वालिफायर खेल्ने र इलिमिनेटर खेल्ने टोलीको टुंगो लगाउनेछ । 

बिहीबारको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच हुनेछ । उक्त खेलको विजेताले इलिमिनेटर खेल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully