पोखरा — टाइगर कप भलिबल प्रतियोगितामो एपीएफको महिला टिम अपराजित रहे पनि पुरुष टिम प्रतियोगिताबाट बाहिरिएको छ । पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको छ । बुधबार हार बेहोरेसँगै एपीएफ बाहिरिएको हो ।
तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेको एपीएफले पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमायो । हेल्प नेपालले २५–२२, २७–२५ ले आफ्नो पक्षमा पारेको थियो । एपीएफले तेस्रो १३–२५ र चौथो २३–२५ ले आफ्नो पक्षमा पारे खेल बराबरीमा ल्यायो । पाँचौं तथा निर्णायक सेटमा हेल्प नेपालले १५–१२ ले जित निकाल्यो । अन्तिम समयमा अंक जोगाउन नसक्दा एपीएफले हार बेहोर्नुपर्यो ।
हेल्प नेपालले लिग चरणको अन्तिम खेल गण्डकी प्रदेशसँग खेल्नेछ । पुरुषतर्फ त्रिभुवन आर्मी र भारतको सुनिल भलिबल क्लबबीचको खेल बुधबार स्थगित भएको छ । चौथो सेट हुने समयमा खराब प्रकाशका कारण स्थगित गरिएको हो । भारतीय क्लब २–१ (२५–२३, २५–२१, १८–२५) ले अगाडि छ । यो खेल बिहीबार हुनेछ । महिलातर्फ ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । पोखरा रंगशालामा बुधबार थाई टिमले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले हराएको थियो ।
