ठूलो स्पर्धामा घरेलु मैदानको अवसर

माघ १७, २०८१

विनोद पाण्डे

A home ground opportunity in a big tournament

काठमाडौँ — थाइल्यान्ड र नेदरल्यान्ड्ससम्मिलित बिहीबार सुरु हुने महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखला नेपालले खेल्न लागेको ठूलो प्रतियोगितामध्येमा पर्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा निकै कम मौका पाउँदै आएको नेपाली महिला टोलीलाई यस शृंखलाले अन्तर्राष्ट्रिय मञ्चमा ठूलो अवसर दिनेछ । 

श्रीलंकामा जुलाईमा सम्पन्न महिला एसिया कप नेपालले खेलेको सबैभन्दा ठूलो प्रतियोगिता हो । संयोगले त्यसयता नेपाली महिला टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । यसले नेपाली महिला टोलीमा अन्तर्राष्ट्रिय खेलको कमीलाई झल्काउँछ । 

‘तीन वर्षपछि अन्तर्राष्ट्रिय महिला क्रिकेट नेपालमा फर्किएको छ, महिला टोलीलाई जति मौका दिनुपर्ने हो, त्यति गरिएन भनेर क्यानमाथि प्रश्न आउने गर्छ,’ नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले भने, ‘दुई बलिया टोलीलाई बोलाएर यस शृंखलाबाट हामीले महिला अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत गरेका छौं । आउँदा वर्षमा राष्ट्रिय होस् वा अन्तर्राष्ट्रियमा महिलाको धेरैभन्दा धेरै प्रतियोगिता गर्ने योजनामा छौं ।’

नेपाली महिला टोलीले घरेलु मैदानमा खेल्न लागेको यो तेस्रो र कीर्तिपुरमा खेल्न लागेको दोस्रो पटक हो । नेपाली महिला टोलीले घरेलु मैदानमा पहिलो पटक सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुदमा पोखरामा खेलेको थियो । त्यस्तै सन् २०२२ को मेमा युगान्डाविरुद्ध कीर्तिपुरमा खेलेयता नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदानमा खेल्न लाग्दै छ । 

नेपालले बिहीबार नेदरल्यान्ड्ससँग खेलेर प्रतियोगिता सुरु गर्दै छ । शृंखला तीन राउन्ड रोबिनमा प्रतिस्पर्धा हुनेछ र सर्वाधिक अंक बटुल्ने टोली प्रतियोगिता विजेता बन्ने छ । सबै टोलीले समान अवसर पाओस् भनेर फाइनल नराखिएको क्यानका क्रिकेट म्यानेजर विनोद दास बताउँछन् । क्यानले प्रतियोगितामा समर्थकले नि:शुल्क मैदानभित्रबाट खेल हेर्न मिल्ने घोषणा गरिसकेको छ । 

महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको वरीयतामा थाइल्यान्ड १३ औं, नेदरल्यान्ड्स १६ औं र नेपाल २० औं स्थानमा छन् । एसियाली क्षेत्रमा भएका कारण नेपालले थाइल्यान्डसँग एसियाली क्रिकेट परिषद् (एसीसी) को प्रतियोगितामा नियमित खेल्दै आए पनि नेदरल्यान्ड्ससँग पहिलो पटक खेल्न लागेको हो । 

‘हाम्रा लागि यो त्रिकोणात्मक शृंखला निकै महत्त्वपूर्ण छ, ब्याटिङको हिसाबमा हामीले आफूलाई माथिल्लो स्तरमा पुर्‍याउनु छ । हाम्रो टोली सन्तुलित छ । आफ्नो उत्कृष्ट प्रदर्शन दिएर जित्ने प्रयासमा हुनेछौं,’ नेपालकी कप्तान इन्दु बर्माले भनिन्, ‘धेरैपछि हामी घरेलु मैदानमा खेल्दै छौं । हाम्रा लागि चुनौती पनि छ यो शृंखला, त्यसैले समर्थकहरू मैदानमा आएर हामीलाई समर्थन गरिदिनुहोला ।’

प्रधानमन्त्री कप खेलेर आएकाले सबै खेलाडी लयमै रहेको इन्दु बताउँछिन् । चार दिनअघि धनगढीमा सम्पन्न प्रधानमन्त्री कपमा इन्दु प्लेयर अफ द सिरिजमा चुनिएकी थिइन् । साथै यू–१९ विश्वकप खेलेर आएकी कप्तान पूजा महतो र एलिशाकुमारी यादव राष्ट्रिय टोलीमा छन् । पूजाले यसअघि नै राष्ट्रिय टोलीबाट खेलिसकेकी छन् ।

टोलीमा एकमात्र विकेटकिपरको भूमिकामा रहेको हुनाले एलिशाले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्ने लगभग निश्चित जस्तै छ । मनीषा उपाध्यायले पनि नेपाली टोलीबाट पहिलो पटक खेल्ने सम्भावना छ । 

पहिलो पटक नेपाल आएर खेल्न लागे पनि नेदरल्यान्ड्सकी कप्तान बाबेटे डी लिडे निकै उत्साही रहिन् । उनले भनिन्, ‘थाइल्यान्डसँग हामीले खेल्दै आएका छौं, नेपालसँग भने पहिलो पटक खेल्न लागेको हो । हामी पनि यहाँ जित्न आएको हौं, जुन निश्चय पनि कठिन छ । पिचमा धेरै टर्न हुन्छ, हामी समुन्द्र सतहबाट आएका हौं र यो निकै उचाइमा भएको स्थान हो । यी सबै कुरासँग हामीले तालमेल मिलाउनुपर्ने हुन्छ ।’

एक समय नेपालभन्दा तल रहेको थाइल्यान्डले पछिल्लो दशकमा महिला क्रिकेटमा निकै फड्को मारिसकेको छ । यस त्रिकोणात्मक शृंखलामा थाइल्यान्ड दाबेदार टोली पनि हो । ‘हामी यहाँ आएर खेल्न पाउँदा निकै उत्साही छौं । हामी यहाँ आउनु अगाडि भारतको पुनेमा प्रशिक्षण गरेका थियौं । हामीले त्यहाँ पुरुष र महिलासँग केही म्याच पनि खेलेका थियौं । त्यसले हामीलाई निकै सहयोग गर्‍यो । हामी यो शृंखला जित्न आएका हौं,’ थाइल्यान्डकी कप्तान मारुइबोल चाइवाईले भनिन् । 

नेपाली टोली : इन्दु बर्मा (कप्तान), विन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममताकुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना क्षेत्री, एलिशाकुमारी यादव, रोमा थापा, मनीषा उपाध्याय, सीता रानामगर, ईश्वरी विष्ट, रेवती धामी, प्रशिक्षक (मनोज कटुवाल)

आजको खेल

नेपालविरुद्ध नेदरल्यान्ड्स

समय : दिउँसो १२.१५

स्थान : त्रिवि क्रिकेट मैदान, कीर्तिपुर

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully