काठमाडौँ — नेपाली महिला फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडीमा पर्छिन्, अनु लामा । उनले अन्तर्राष्ट्रिय फटबलबाट विदा लिएको त केही वर्ष भइक्यो । तर घरेलु फुटबलबाट औपचारिक रूपमा बिदा भने लिएकी थिइनन् । अन्तर्राष्ट्रिय फुटबल छाडेयता उनले भनेकी थिइन्, सायद अझै केही वर्ष क्लब फुटबल खेलिनेछ ।
तर, सबथोक उनले भने जस्तै भएन । यस्तोमा उनले घरेलु फुटबलबाट पनि बिदा लिने अवसर बनाइन्, एन्फा महिला लिगको प्लेअफ फाइनल । त्यसमा उनी सब्स्टिच्युट खेलाडीका रूपमा खेलको अन्त्यतिर छिरिन् । यसक्रममा एक गोल गरिन् । उनले आफ्नो खेलजीवनको अन्तिम प्रहारमै गोल गरिन् ।
यस्तोमा यो रह्यो, सम्झनलायक बिदाइ । उनले पछि भनिन्, ‘हाम्रो पालोमा महिला फुटबल अर्कै थियो, अहिले अर्कै छ । समय फेरिएको छ अनि परिस्थिति । अहिलेका खेलाडीसामु अवसर र सुविधा दुवै धेरै छन् । तिनीहरूलाई मौका मात्र दिनुपर्छ, उनीहरूले धेरै गर्न सक्छन् । अब हामी विश्वकप खेलेको सपना पनि बुन्न सक्छौं ।’
उनले अगाडि भनिन्, ‘म सबैलाई भन्न चाहन्छु, पुरुष फुटबलसरह महिला फुटबललाई महत्त्व दिनुपर्यो । यसको धेरै खेल हुनुपर्छ, लिग पनि हुनुपर्छ अनि नकआउट प्रतियोगिता त्यत्तिकै चाहिन्छ । अन्तर्राष्ट्रिय खेल पनि भइरहन्छ, यसमा टिमलाई अवसर दिनुपर्छ । नेपाली महिला फुटबलबारे धेरै आस गर्न सक्ने ठाउँ छ ।’
