काठमाडौँ — एलिसाकुमारी यादव र मनिषा उपाध्यायले नेपाल महिला राष्ट्रिय टोलीबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेकी छिन् । नेपालले नेदरल्यान्ड्सविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको खेलका लागि दुवैलाई प्लेइङ ११ मा राखेको छ ।
यू–१९ बाट एलिसाले पछिल्लो समय राम्रो प्रभाव पार्दै आएकी थिइन् । टोलीमा एक मात्र विकेटकिपरको भूमिकामा रहेको हुनाले एलिसाले नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्ने लगभग निश्चित भइसकेको थियो । उनले मलेसियामा भएको आईसीसी यू–१९ विश्वकपबाट नेपालबाट सबै चार खेल खेलेकी थिइन् ।
पछिल्लो समय काजोल श्रेष्ठले नेपालबाट विकेटकिपर–ब्याटरको भूमिका निभाउँदै आएकी थिइन् । तर उनले ब्याटिङबाट प्रभाव पार्न सकेकी थिइनन् । धनगढीमा सम्पन्न प्रधानमन्त्री कपका तीन खेलमा उनले १२ रन मात्र बनाउन सकेकी थिइन ।
धनगढीमै बागमती प्रदेशकी बलर मनीषाले राम्रो सम्भावना देखाएकी थिइन् । प्रधानमन्त्री कपमा मनीषाले सर्वाधिक १० विकेट लिएकी थिइन् । कोशी प्रदेशविरुद्धको पहिलो खेलमा ४ विकेट लिएकी उनले सुदूरपश्चिमविरुद्धको ‘सुपर फोर’ खेलमा ३ विकेट लिएकी थिइन् ।
