महिला लिग फुटबल फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध एपीएफको एकपक्षीय जित
काठमाडौँ — च्याम्पियन नहुँदो हो त यो एपीएफमाथि असाध्यै धेरै अन्याय हुने थियो । जतिबेला एपीएफले एन्फा महिला लिग फुटबलको प्लेअफ फाइनल बुधबार जित्यो, त्यसले भने नयाँ इतिहास रचेको छ । त्यो भनेको नेपाली महिला फुटबलको इतिहासमै एपीएफलाई साँच्चैको लिग विजेता भन्न सकिनेछ ।
२०८१ साल त्यस्तो वर्ष रह्यो, जसमा महिला फुटबलको सबैभन्दा बढी खेल भयो । सबैभन्दा पहिले छनोट र त्यसपछि पहिलो चरण अनि दोस्रो चरण । फेरि प्लेअफ । त्यसमध्ये छनोटलाई छाडेर एपीएफ क्लब पहिलो चरणमा पनि शीर्षमै रह्यो । दोस्रोमा पनि शीर्षमै अडियो । तर उपाधिसम्म यात्राका लागि प्लेअफ फाइनल त जित्यो नै, त्यसअघि क्वालिफायर–१ पनि जितेको थियो ।
यस्तोमा एपीएफलाई भन्न सकिन्छ ‘ट्र्यु च्याम्पियन’ । नेपाली महिला फुटबलको लिग इतिहासबारे केही पनि प्रस्ट छैन, कहिले सुरु भयो र कसरी कहाँ सुरु भयो । हामीसँग जति पनि तथ्यांक उपलब्ध छन्, त्यसअनुसार एपीएफको यसपालिको प्रदर्शन अहिलेसम्मकै सानदार रह्यो । यो टिमलाई ‘इनभिन्सिबल’ मज्जाले भन्न सकिनेछ ।
किनभने यसले पूरा प्रतियोगितामा कुनै पनि खेल गुमाएन र अपराजित हुँदै उपाधि जितेको हो । ‘लिग च्याम्पियन हुँदा हामी स्वाभाविक रूपमा खुसी छौं । हामी लिग च्याम्पियन हुनेमा आत्मविश्वासी थियौं । हामीले त यसअघि नै लिग जितिसकेको भन्दा पनि हुन्छ, लिगका प्रत्येक मोडमा अगाडि रहेर,’ एपीएफकी कप्तान अनिता बस्नेतले भनिन् ।
उनले भनिन्, ‘तर अहिले साँच्चै जितेको औपचारिक रूपमा च्याम्पियन भएका छौं ।’ यही यात्राका योद्धा प्रशिक्षक जीवेश पाण्डेले दाबी गरे, पूरा प्रतियोगिताका क्रममा आफ्नो टिम उत्कृष्ट प्रदर्शन गर्न सफल रह्यो । उनको भनाइ थियो, ‘यो सफलतामा हामी सबै खुसी छौं, हामी च्याम्पियन भयौं । किनभने हामीले राम्रो खेल्यौं । हाम्रो प्रदर्शन सबै क्षेत्रमा राम्रो रह्यो । यसको श्रेय सबैलाई जान्छ, संगठन, खेलाडी र टिमका सबै सदस्य ।’
हुन पनि एपीएफ किन च्याम्पियन भयो भन्दा त्यसको स्पष्ट उत्तर हुनेछ, यो टिमविरुद्ध पूरा प्रतियोगितामा कसैले बलियो चुनौती पेस गर्न सकेन । एपीएफ लिगमा आफूले सामना गरेका सबै टिमविरुद्ध उत्कृष्ट रह्यो । अझ दुई विभागीय प्रतिद्वन्द्वी पुलिस र आर्मीविरुद्ध पनि एपीएफ धेरै अगाडि रह्यो । लिग चरणमा ती दुई खास प्रतिद्वन्द्वीविरुद्ध एपीएफले कुनै पनि खेल गुमाएन । उल्टै ती दुई टिम धेरै पछाडि रहेको स्पष्ट पार्न सफल भयो ।
एपीएफको रक्षापंक्ति नै राम्रो थियो, त्यसैले कम गोल खायो । टोलीको मध्यपंक्ति नै राम्रो थियो, त्यसैले धेरै अवसर सिर्जना भए । एपीएफको अग्रपंक्ति पनि राम्रो थियो, त्यसैले उत्तिकै धेरै गोल पनि निस्कियो । एपीएफले किन लिग जित्यो भन्नेको उदाहरण त लिगको अन्तिम खेल पनि रह्यो । पुलिसले यो खेलमा एउटै रणनीति लिएको थियो, एपीएफलाई सक्दो रोक्ने । पुलिसको ध्यान नै रक्षापंक्तिमा मात्र केन्द्रित थियो । त्यसैले दोस्रो हाफमा मात्रै गोल निस्केको थियो ।
यति हुँदाहुँदै पनि पूरा खेलमा एपीएफ पूर्णतः हाबी रह्यो । डिफेन्डिङ च्याम्पियन एपीएफले पुलिसलाई सजिलै ४ गोलले हराएको थियो । यसपल्टको लिगमा एपीएफको यो लगातार १८ औं जित हो । एपीएफका लागि सविता रानागमरले २ तथा सरु लिम्बू र अनु लामाले एक गोल गरे । सविताले ६४ औं मिनेटमा सुरुकै पासमा गोलको खाता खोलिन् । सरु आफैंले ६९ औं मिनेटमा दोस्रो गोल गरिन् । रेनुका नगरकोटेको सुरुआती प्रहार पोस्टमा ठोक्किएर फर्केपछि त्यसमै सुरुले निर्णायक प्रहार गरेकी हुन् ।
सविताले ८३ औं मिनेटमा आफ्नो दोस्रो तथा टिमको तेस्रो गोल गरिन् । प्रीति राईले उपलब्ध गराएको पासमा सविताले गोल गरेकी हुन् । दोस्रो हाफको इन्ज्युरी समयमा अनु लामाले चौथो गोल थपिन् । पुलिसकी गोलरक्षक उषा नाथ अगाडि बढेको अवसरमा अनुले बललाई खाली पोस्टमा सजिलै दिशा दिए । महिला लिगमा एपीएफ २०६८ देखि पराजित रहेको छैन । नेपाली महिला लिगबारे स्पष्ट तथ्यांक भने छैन । एपीएफलाई चारपल्टको डिफेन्डिङ च्याम्पियन मानिएको छ ।
व्यक्तिगत अवार्डमा पनि एपीएफ पूर्णतः हाबी रह्यो । त्यसैले सविता भइन् प्रतियोगिताकै उत्कृष्ट खेलाडी । उनले गोलमात्र गरिनन्, उत्तिकै अवसर सिर्जना गरिन् । यस्तै रश्मिकुमारी घिसिङ भइन् सर्वाधिक गोलकर्ता अनि सवित्री किसन बनिन् उत्कृष्ट गोलरक्षक । रश्मिले पूरा प्रतियोगितामै ३५ गोल गरिन् । सावित्रीले नियमित गोलरक्षक एन्जिला सुब्बा तुम्बापोको अनुपस्थितिमा पहिलो पटक माथिल्लो स्तरमा गोलपोस्ट सम्हालेकी थिइन् ।
