सभापति कप फुटबल उपाधिका लागि बागमतीले संकटाविरुद्ध खेल्ने
काठमाडौँ — लगातार दोस्रो सेमिफाइनलको छिनोफानो पनि टाइब्रेकरमा भएको छ । यसपल्ट भाग्यमानी रह्यो, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश । दशरथ रंगशालामा भएको खेल जितेर बागमती सभापति कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।
अब उपाधिका भिडन्तमा बागमतीले सामना गर्नेछ संकटा क्लबको । मंगलबार निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा टाइब्रेकरमा पुगेको हो । त्यसमा बागमतीका लागि नायक रहे, गोलरक्षक विकेश कुथु ।
उपाधिको बलियो दाबेदार रहेको एनआरटीले दुई गोलले पछाडि रहेको स्थितिबाट खेल बराबरीमा ल्याए पनि पेनाल्टीमा टोलीलाई भाग्यले साथ दिएन । ‘प्लेयर अफ द म्याच’ रहेका विकेशले एनआरटीका सरोज तामाङले गरेको पहिलो प्रहार नै रोके । लगत्तै सुमिन श्रेष्ठको प्रहार भने बाहिरिएको थियो । त्यसबीच बागमतीका लागि नवीन लामाले पहिलो गोल गरे । त्यसपछि बागमतीका फोडे फोफाना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरेका हुन् ।
एनआरटीबाट अभिषेक लिम्बू र कृतिशरत्न छुन्जुले मात्र गोल गरे । आफ्नो टिमको प्रदर्शनमा खुसी व्यक्त गर्दै बागमतीका श्रीप्रकाश वैद्यले आफ्ना खेलाडीको प्रशंसा पनि गरे । नेपालको घरेलु फुटबलमा पहिलो पटक माथिल्लो स्तरमा टिम सम्हालिरहेका वैद्यले आफ्नो यही डेब्यू प्रतियोगितामै टिमले उपाधि जित्न सक्ने विश्वास व्यक्त गरे । उनको भनाइ थियो, ‘खेलाडीहरू जम्मा गरेर प्रतियोगिता खेल्दा गाह्रो भने हुने गर्छ ।’
निर्धारित समयको खेलमा बागमतीले सुरुमै दुई गोलको अग्रता लिएको थियो । विजयी टिमका लागि सन्दीप कार्कीले ११ औं मिनेटमा पहिलो गोल गरे । यो दर्शनीय रह्यो । यसका लागि उनले पेनाल्टी एरियाबाट गरेको प्रहारले केही घुमाउरो बाटो तय गरेर पोस्टको दिशा लिएको थियो । लगत्तै १४ औं मिनेटमा सेनेगाकाइज एलेक्सले दोस्रो गोल थपे । निडोन नाह केरमेहले दिएको पासलाई उनले निकै नजिकको दूरीबाट सजिलै पोस्टतर्फ प्रहार गरे ।
एनआरटीको दुवै गोल कृतिशरत्नको नाममा रह्यो । उनले ४६ औं मिनेटमा पहिलो गोल गरे । यसका लागि उनले हेनरी पुकुको पास उपयोग गरेका थिए । कृतिशले नै ६९ औं मिनेटमा दोस्रो गोल थपे । विवेक गुरुङको क्रसलाई उनले गोलमा परिणत गरेका हुन् । आफ्नो पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको एनआरटीले सेमिफाइनलमा त्यसलाई दोहोर्याउन सकेन । विशेषतः कप्तान अञ्जन विष्ट अपेक्षाअनुसार प्रभावशाली रहन सकेनन् ।
‘यो हाम्रो खेल अपेक्षाअनुसार रहेन र सुरुमै दुई गोल खायौं, त्यसैले सम्हाल्न अवसर नै भएन । हाम्रो खेलमा लय नै देखिएन,’ एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले भने । उनले माने,
एनआरटीको प्रदर्शन त्यस्तो रहेन, जस्तो पहिलो खेलमा थियो ।
‘हाम्रो खेलमा एक प्रकारले चमक नै रहेन,’ उनको स्विकारोक्ति थियो, ‘तर मलाई टाइब्रेकरबारे केही भन्नु छैन ।’ उनको आशय थियो, पेनाल्टी शुटआउटमा भाग्य नै सबैभन्दा बढी निर्णायक हुने गर्छ ।
सर्वाधिक २६ लाख विजेता पुरस्कार
राशि रहेको प्रतियोगिताको फाइनल
बिहीबार हुनेछ ।
