टाइगर कप भलिबलः पाहुना टोलीको सान्त्वना जित 

माघ १६, २०८१

दीपक परियार

Tiger Cup Volleyball: Consolation win for visiting team

पोखरा — पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ ट्राभल इन्क्व्यारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । 

पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्व्यारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्व्यारीले एकमात्र जित निकाल्यो । आर्मी भने जितविहीन रहँदै यात्रा टुंग्यायो । 

पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्व्यारीलाई सुम्पिएको आर्मीले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले जित हासिल गरेको थियो । आर्मी चौथो सेटमा पुनः १९–२५ ले पराजित हुँदै खेल ट्राभल इन्क्व्यारीलाई सुम्पियो ।

प्रतियोगिता अहिले महिलातर्फ पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका एपीएफ र आयोजक टाइगर ग्रुप अफ पोखराबीच खेल भइरहेको छ । यो खेलले विजेता समूहको विजेता र उपविजेताको टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ । 

बुधबारको तेस्रो र चौंथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफबीच हुनेछ । चौंथो तथा अन्तिम खेल भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबीचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully